मोरङको २ वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आएसँग नेकपा एमालेसहितका उम्मेदवारको जमानत जफत भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत निर्वाचन क्षेत्र नम्बर ४ र ६ को अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै एमालेसहितका उम्मेदवारको जमानत जफत भएको हो।
मोरङ क्षेत्र नम्बर ४ को अन्तिम मतपरिणाम शुक्रबार राति र ६ नम्बर क्षेत्रको शनिबार बिहान घोषाण गरिएको थियो। ४ नम्बर क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सन्तोष चौधरीले ४० हजार ८३३ मत र ६ नम्बरबाट रास्वपाकै रुबिना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भए।
मोरङ ४ र ६ मा नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दल र स्वतन्त्र गरेर ३१ जना उम्मेदवारको जमानत जफत भएको छ। जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ।
मोरङ–४ बाट कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र नेकपाका अमनलाल मोदीले क्रमशः दोस्रो र तेस्रो भए। उनीहरु दुवैले जमानत जोगाउन सफल भएका छन्। मोरङ–४ बाट एमालेका केन्द्रीय सदस्यसमेत रहेका जीवन घिमिरे ६ हजार ९३३ मत र राप्रपाका माधव आचार्यसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ।
मोरङ–४ मा ७९ हजार ७७५ मत खसेकोमा ७४ हजार ५१९ सदर भएको थियो। ५ हजार २५६ मत बदर भएको छ। बदर मतको संख्या धेरै रहेको हो।
त्यस्तै, मोरङ–६ मा रास्वपाकी आचार्यसँग कांग्रेसका नेता डा. शेखर कोइराला पराजित भए। १२ हजार ८५० मत ल्याएका कोइरालाको मात्रै जमानत जोगिएको छ। तेस्रो स्थानमा रहेका एमालेका विनोद ढकाल, नेकपाका ओपेन्द्र रायसहित १५ जना उम्मेदवारको जमानत जफत भएको छ।
मोरङ–६ मा ८९ हजार ८४७ मत खसेको थियो। खसेकोमध्ये ८५ हजार २३३ सदर र ४ हजार ६१६ मत बदर भएको छ। यो क्षेत्रमा पनि उल्लेख्य मत बदर भएको छ।
प्रकाशित: २३ फाल्गुन २०८२ ११:०२ शनिबार



-600x400.jpg)

