विराटनगरमा देशकै नमुना स्पोटर्स जोन सञ्चालनमा आएको छ । विराटनगर महानगरपालिका–३ मा आधुनिक खेलकुद पूर्वाधारसहितको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आएको हो । विभिन्न खेल र खेलाडीलाई एकैथालोमा जमघट गर्ने गरीको देशकै नमुना स्पोर्ट्स जोन रहेको बताइएको छ ।
विराट स्पोर्ट्स जोनले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर स्पोटर्स जोन सञ्चालनमा आएको जानकारी दिएको हो । स्पोर्ट्स जोनका अध्यक्ष हरि बजगाईंले कोशी प्रदेशमा खेलकुदको विकास गर्ने उद्देश्यले आधुनिक खेलकुद पूर्वाधारको विकासको लक्ष्यसहित ५ करोड रुपैयाँको लगानीमा ‘विराट स्पोट्र्स जोन’ सञ्चालन ल्याएको बताए । उनले मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने बताए ।
देशभर भएका एकेडेमीमध्ये ठूलो (धेरै क्षेत्रफल) भएको बताउँदै, अध्यक्ष बजागाईंले भने, ‘३० कठ्ठा क्षेत्रफलमा विस्तार गरिएको यो संरचनाले प्रदेशको खेलकुद क्षेत्रमा नयाँ आयाम थपिएको छ । स्पोट्र्स जोनलाई सुरक्षित, आकर्षक र अन्तर्राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विस्तार गरेका छौं । भविष्यमा स्वीमिङ पुल र इन्डोर गेमिङ जोनलगायतका थप आधुनिक पूर्वाधार निर्माण गरी संरचनालाई व्यापक बनाउने दीर्घकालीन योजना बनाएका छौं ।’
स्पोटर्स जोनमा प्रशिक्षण लिने सबै खेलाडीसँग लिइने मासिक शुल्क वापत उनीहरुलाई प्रशिक्षण मात्रै नभई खेल्दा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्य नजर गरेर खेलाडीको ५ लाख रुपैयाँसम्मको बिमा गरिएको छ ।
महिला खेलाडीलाई आकर्षण गर्ने मात्रै होइन, उनीहरुको खेल स्तरलाई विकास गर्ने उद्देश्यका साथ निःशुल्क प्रशिक्षणको व्यवस्था गरिएको छ । क्रिकेट र फुटबलमा सुरुमा भर्ना भएका ५०–५० जना महिला खेलाडीलाई प्रशिक्षण वापतको भर्ना र मासिक शुल्क पूर्ण रुपमा निःशुल्क गरेको बताउँदै, अध्यक्ष बजागाईंले भने, ‘यसले गर्दा महिला खेलाडीहरुमा खेलप्रति रुचि बढ्न सक्ने विश्वास गरिएको छ । यहाँ १२ महिने खेल्ने वातावरण र संरचना रहेको छ । अन्य ठाउँमा वर्खाको समय खेल वा प्रशिक्षण बन्द हुन्छ । २०/२५ वटा खेल एकै थलोमा खेल्न सक्ने गरी संरचना बनाइरहेका छौं ।’ अनुभवी प्रशिक्षकबाट सबै खेलका स्पोटर्स जोनभित्र फुटबल, फुटसल, तेक्वान्दो, क्रीकसल, स्केटिङ, गो–कार्ट, ब्याडमिन्टन, पिकल बल र टेबलटेनिसजस्ता खेलका अुनभवी प्रशिक्षकबाट नियमित रूपमा प्रशिक्षण गराइने छ । अन्य खेलका संरचना तीव्रगतिमा तयार भइरहेको र चाँडै सञ्चालनमा आउने बताइएको छ ।
प्रकाशित: २५ मंसिर २०८२ २०:२१ बिहीबार





