अनुभवी ब्याटर बाबर आजमबिना नै पाकिस्तानले बंगलादेशसँग आगामी हप्तादेखि हुने एकदिवसीय शृंखलाका लागि टोली घोषणा गरेको छ।
पाकिस्तानले अर्को वर्ष हुने विश्वकपलाई ध्यानमा राखेर ६ जना अनक्याप खेलाडीलाई टोलीमा समावेश गरेको छ। ओपनर सइम अयुब, स्पिन अलराउन्डर सादव खान र मोहम्मद नवाज र तीव्र गतिका बलर नसिम शाह जस्ता खेलाडी १५ सदस्यीय पाकिस्तानी टोलीमा अटाएका छैनन्। पाकिस्तानले बंगलादेशको ढाकामा आगामी मार्च ११, १३ र १५ तारिखमा गरेर तीन वटा एकदिवसीय खेल खेल्नेछ।
भारत र श्रीलंकामा जारी टी ट्वान्टी विश्वकपमा पाकिस्तान सेमिफाइनलमा पुग्न असफल भएको थियो। यस विश्वकपमा असफल भएका सदस्यलाई पाकिस्तानले टोलीमा समावेश गरेका छैन। बाबर आजमले विश्वकपमा मात्र ९१ रन जोडेका थिए तर एक सय ४० वटा एकदिवसीयमा उनले ६ हजार पाँच सय १ रन जोडेका छन्। त्यसमा दुई शतक समावेश छ।
ब्याट्सम्यान फखर जमान विश्वकपमा चोट बोकेका कारण समावेश छैनन्। तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पाकिस्तानी क्रिकेट टोलीको कप्तानी गर्ने पाकिस्ता क्रिकेट बोर्ड (पिसिबी) ले जनाएको छ।
अब्दुल समाद, माज सदाकत, मुहम्मद घाजी, साद मक्सुद, साहिबजादा फरहान र सामिल हुसेन गरी ६ जना खेलाडीले एकदिवसीय फरम्याटमा पाकिस्तानबाट खेलेका छैनन् तर बंगलादेशविरुद्ध उनीहरूलाई टोलीमा समावेश गरिएको छ।
५० ओभरको विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा अक्टोबरमा आगामी वर्षको अक्टोबरमा हुनेछ। शाहिनको कप्तानीमा रहेको पाकिस्तानी टोलीमा अबरार अहमद, फहिम असरफ, फैसल अक्रम, हरिस रौउफ, हुसेन तलात, मुहम्मद रिजवान, मोहम्मद वासिम, मुहम्मद घाजी र सलमान अली आघा छन्।
प्रकाशित: २१ फाल्गुन २०८२ ०९:०६ बिहीबार





