२५ असार २०८३ बिहीबार
image/svg+xml
खेल

कठिन प्रतिद्वन्द्वीको सामना गर्दै एसियाली पावर हाउस

नर्वे वा आइभरी कोस्टमध्ये एकसँग क्वार्टरफाइनलमा भिड्ने लक्ष्यसहित दक्षिण अमेरिकी टोली ब्राजिल र एसियाको पावरहाउस जापान सोमबार ह्युस्टन स्टेडियममा आमनेसामने हुँदै छन् ।

ब्राजिल समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। मोरक्कोसँग १–१ को बराबरीमा रोकिँदै सुरुआत गरेको कार्लो एन्सेलोटीको ब्राजिलले हाइटी र स्कटल्यान्डलाई समान ३–० ले हराउँदै उत्कृष्ट लय समात्यो। पहिलो खेलमा गोल खाएपछि ब्राजिलले कुनै गोल व्यहोरेको छैन। त्यसयता उसले लगातार सात गोल गरेको छ। विश्वकपमा ब्राजिलले लामो अविच्छिन्न गोलको शृंखला सन् २००२ मा बनाएको छ, जुन वर्ष दक्षिण अमेरिकी टोली सर्वाधिक पाँचौंपल्ट विश्व च्याम्पियन पनि बन्यो। ब्राजिलका लागि अर्को सकारात्मक पक्ष नेइमारको पुनरागमन हो। चोटका कारण लामो समय बाहिर रहेका नेइमारले ९८१ दिनपछि पहेंलो जर्सीमा पुनरागमन गरे। चार विश्वकपमा खेल्ने चौथो ब्राजिलियन भए पनि उनी उत्कृष्ट लयमा भने छैनन् ।

यद्यपि, उनको उपस्थिति ब्राजिलका लागि आत्मबल बन्न सक्छ। सन् १९८२ यता प्रत्येक विश्वकपमा ब्राजिल आफ्नो समूहमा शीर्ष टोली बन्न सफल भयो। तर पछिल्ला संस्करणका नकआउट चरणमा भने उसले अपेक्षित प्रदर्शन गर्न सकेको छैन। पछिल्ला ६ वटा नकआउट खेलमध्ये ब्राजिल चारमा पराजित भएको छ। जुन अघिल्ला १७ नकआउट खेलको तुलनामा निकै कमजोर प्रदर्शन हो। ती अधिकांश हार युरोपेली टोलीविरुद्ध आएका थिए। सन् १९९० मा ब्राजिल पहिलो नकआउट चरणबाटै बाहिरिएको थियो। त्यो हार अर्जेन्टिनासँग सामना गरेको हो। यसपटक ब्राजिलको सामना परम्परागत प्रतिद्वन्द्वीसँग होइन एसियाको पावर हाउस जापानसँग हुनेछ।  

विश्वकै सबैभन्दा ठूलो जापानी समुदाय ब्राजिलमै बसोबास गर्छ। जापानको जे लिग लोकप्रिय बनाउन ठूलो योगदान ब्राजिलका पूर्वस्टार जिकोको छ। धेरै ब्राजिलियनले जापानी नागरिकता लिएर राष्ट्रिय टोलीको प्रतिनिधित्वसमेत गरेका छन्। त्यसैले दुई राष्ट्रबीच पारस्परिक सम्मानको सम्बन्ध रहेको मानिन्छ। तर उपलब्धिको हिसाबले भने ब्राजिल अगाडि छ। विश्वकप इतिहासमा जापानको पाँचौं नकआउट खेल मात्र हो। उसले अहिलेसम्म नकआउट चरणमा जित निकाल्न सकेको छैन। यसपटक जापानले कठिन प्रतिद्वन्द्वी पाएको छ। यसअघि विश्वकपमा जापानलाई नकआउटबाट बाहिर पठाउने चार टोलीमध्ये तीन टोली तेस्रो भएको इतिहास छ ।

सन् २००२ मा टर्की, २०१८ मा बेल्जियम र २०२२ मा क्रोएसियाले यो सफलता पाएका हुन्। समूह ‘एफ’ मा नेदरल्यान्ड्स र स्विडेनसँग बराबरी खेलेको जापानले ट्युनिसियालाई ४–० ले पराजित गरेको थियो। दोस्रो स्थानमा रहेर उसले नकआउटमा स्थान बनाएको हो। स्विडेनविरुद्ध ३९ वर्षीय युतो नागातोमो पाँच विश्वकप खेल्ने पहिलो एसियाली खेलाडी बने। प्रशिक्षक हाजिमे मोरियासुले विश्वकपमा आफ्नो आठौं खेल सम्हाल्दै कुनै पनि एसियाली प्रशिक्षकका लागि नयाँ कीर्तिमान बनाउनेछन्। जापानका कप्तान वातारु एन्डो र स्टार विङ्गर काओरु मितोमा चोटका कारण बाहिर छन्। तर पनि यो टोली पछिल्ला १० खेलमा अपराजित छ। यस अवधिमा उसले मैत्रीपूर्ण खेलमा ब्राजिललाई समेत पराजित गरेको थियो।

टेकफुसा कुबोको खेल्ने सम्भावना अझै अनिश्चित रहे छ। जापानको आक्रमण उत्कृष्ट छ। टोलीले यस विश्वकपमा अहिलेसम्म सात गोल गरिसकेको छ। जुन विश्वकप इतिहासमा जापानको सर्वाधिक गोल संख्या हो। यस संस्करणमा जापानका १० फरक खेलाडीले गोल गरेका वा गोलका लागि पास दिएका छन्। यो पनि देशका लागि कीर्तिमान हो। तीन गोलमा योगदान दिँदै स्ट्राइकर आयासे उएदाले एकै विश्वकपमा सबैभन्दा धेरै गोलमा प्रत्यक्ष संलग्न हुने जापानी खेलाडीको कीर्तिमान बराबरी गरेका छन्। यता ब्राजिलको आक्रमण पनि उत्तिकै प्रभावशाली छ। माथेस कुन्हाले चार प्रहारमध्ये तीन गोल गरेका छन्। भिनिसियस जुनियरले चार गोल गरिसकेका छन् ।

जुन समूहचरणमा कुनै ब्राजिलियनले गरेको सर्वाधिक गोल संख्या हो। यसअघि यस्तो उपलब्धि रोनाल्डो (२००२), नेइमार (२०१४) र जर्जिन्हो (१९७०) ले प्राप्त गरेका थिए। १९ वर्ष ३२५ दिनका रायानले चोटग्रस्त राफिन्हाको स्थानमा स्कटल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरे। ब्राजिलका लागि विश्वकपमा असिस्ट गर्ने उनी सबैभन्दा कान्छा खेलाडी (१९६६ यता) बने। ब्राजिलको जापानविरुद्ध इतिहास पनि निकै बलियो छ। यद्यपि, वर्तमान सुखद छैन। उसले जापानसँग १४ भेटमध्ये ११ खेल जितेको, दुई बराबरी खेलेको र एक खेल हारेको छ ।

विश्वकपमा दुई टोलीबीच भएको एकमात्र भेटमा ब्राजिलले २० वर्षअघि ४–१ को जित निकालेको थियो। गत अक्टोबरमा टोकियोमा ब्राजिलले दुई गोलको अग्रता जोगाउन नसक्दा जापानसँग ३–२ को हार सामना गर्नुपरेको थियो। उक्त खेलमा उएदाले निर्णायक गोल गरेका थिए। यसपटक पनि ब्राजिललाई नै स्पष्ट दाबेदार मानिएको छ। एक तथ्यांक ब्राजिलले निर्धारित ९० मिनेटभित्रै जित निकाल्ने सम्भावना ५७.३ प्रतिशत अनुमान गरेको छ। जापानको जितको सम्भावना १९.७ प्रतिशत मात्र आकलन गरिएको छ। खेल अतिरिक्त समय वा सम्भावित पेनाल्टी सुटआउटसम्म पुग्ने सम्भावना २३ प्रतिशत रहेको छ।

प्रकाशित: १५ असार २०८३ ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App