साहित्यिक पत्रकार संघले दोस्रो विश्वव्यापी खुल्ला "आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता-२०८२" को उत्कृष्ट २५ को परिणाम सार्वजनिक गरेको छ।
उक्त प्रतियोगितामा उत्कृष्ट २५ कवितामा क्रमशः १.जागौँ वीर युवा, विपेन आदिमा, २. जेनजीबहादुर, सुनिता अधिकारी, ३. कवितामा देश, तुलसी घिमिरे, ४. प्रेमका परम गणितहरू, गुञ्जन राई, ५. आवाजहरूको विद्रोह, संगीता खरेल, ६. मुखौटाहरूको महोत्सव, रमेश दाहाल, ७. बलिदानीहरूको आवाज, सरस्वती विश्वकर्मा (सारा), ८. स्वाभिमान, ''प्यासी'' २ अनुमोदन, ९. गाउँ जाने बाटो, मदन घिमिरे, १०. मान्छे हरायो, किरण विश्वकर्मा, ११. सहर अब सहर होइन, अञ्चु सुवेदी र १२. के गर्व गर्नु छ? गोपाल खनाल रहेका छन्।
त्यसैगरी १३. शून्यहरूको आत्मकथा अनन्तसम्म, राजु उवरकोटी, १४. फूलकुमारी, सरिता जोशी, १५. भित्तेपात्रोहरू, मोहित जोशी , १६. म र झोला, मनिभक्त राई, १७. के म नेपाली होइन र ?, कंडेल, १८. क्षमायाचना, सुरज पराजुली, १९. जेनजेड पुस्तासँग प्रकृति र वातावरण संरक्षणका कुरा, माधवहरि पौडेल, २०. मैले कविता लेख्न सकेको छैन, परिवेश मुन्छे, २१. मान्छे : एक अनन्त अन्वेषण, इन्द्रप्रसाद गोतामे (जगतजंग), २२. परिवर्तन, शून्य नयन, २३. युवालाई आह्वान, सुशील पौडेल, २४. एकलव्यको दोस्रो प्रहार, शुभचन्द्र राई र २५. लग्दै छ वृद्धाश्रम, निशा काफ्ले छन्।
उक्त निर्णय वरिष्ठ समालोचक प्रमोद प्रधानको संयोजकत्वमा बनेको निर्णायक समितिले गरेको साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ।
अमेरिकामा रहेका समाजसेवी सपना राउतले सो प्रतियोगिताको लागि रकम प्रायोजन गरेकी हुन्। उक्त प्रतियोगिताका लागि कविता समसामयिक विषयमा लेखिएको हुनुपर्ने, ४० वर्ष उमेर ननाघेकाहरू मात्र सहभागी हुन पाउने र कविता अप्रकाशित हुनुपर्ने सर्त राखिएको थियो।
प्रतियोगितामा पहिलो हुनेले ३०,०००/-, दोस्रो हुनेले २०,०००/- र तेस्रो हुनेले १०,०००/- रुपैयाँ सहित प्रमाणपत्र पाउने पनि उल्लेख गरिएको छ। साथै सहभागी उत्कृष्ट २५ कविलाई प्रमाणपत्र प्रदान प्रदान गर्ने पनि जनाइएको छ।
संघले प्रतियोगिताको लागि कविता प्राप्त हुनुपर्ने अन्तिम दिन २०८२ पुस मसान्तलाई तोकेको थियो। संघले यसअघि निबन्ध प्रतियोगिता गराएको थियो।
के हाे सापस?
२०८० साउन २९ गते स्वर्ण महोत्सवको विशेष समापन कार्यक्रमको आयोजना गरेको साहित्यिक पत्रकार संघ नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारिताका लागि क्रियाशील रही आएको छ।
साहित्यिक पत्रकार संघको स्थापना २०२९ मा भएको हो। उल्लिखित विधाहरूमा यसले आफ्नो स्थापनाकालदेखि नै रचनात्मक क्रियाकलापहरू सम्पन्न गर्दै आइरहेको छ। यो संस्था राष्ट्रको साहित्यिक तथा सांस्कृतिक गरिमा अभिवृद्धि गर्ने काममा सधैं अग्रसर हुँदै आएको छ।
साहित्यिक पत्रकार संघले २०३८ देखि प्रत्येक वर्ष चैत १९ गते कथा दिवस मनाउँदै आएको छ। यस्तै कवितायात्रा, साहित्यिक बनभोज, आत्मवाचन कार्यक्रम, सम्मान अभिनन्दनलगायतका कार्यक्रमहरूसहित मैनाली कथा पुरस्कार, व्यथित काव्य पुरस्कार, लोकप्रिया पुरस्कार, भवानी साहित्यिक पत्रकारिता पुरस्कार, सापस साहित्यिक पत्रकारिता पुरस्कार आदि पनि प्रदान गर्दै आएको छ।
यसले २०४६ देखि २०६४ सालसम्म गाइजात्रा कार्यक्रमको आयोजना, स्रष्टाहरूको सम्मान, अभिनन्दन, रथारोहणजस्ता कार्यक्रम गर्दै आएको छ। यस्तै कविता क्यासेट, स्मारिका, सिर्जना बुलेटिनलगायत विभिन्न स्रष्टाका कृति पनि प्रकाशन प्रकाशन गर्दै आइरहेको छ। केहीअघि मात्र म्युजिक नेपालसितको सहकार्यमा भूपि शेरचनका कविताहरू विभिन्न कविको स्वरमा अडियो रेकर्ड सार्वजनिक गरी युट्युबमा राखिएको छ।
प्रकाशित: २५ असार २०८३ १४:०९ बिहीबार





