सुशान थापामगर र स्वप्निल दर्नाल दुवैले ह्याट्रिक पूरा गरेपछि चर्च ब्वाइज युनाइटेडले शुक्रबार एन्फा यु–१६ युथ लिगमा गोल वर्षा गर्दै पहिलो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुशानले पाँच र स्वप्निलले तीन गोल गरेसँगै चर्च ब्वाइजले प्लानिङ ब्वाइज युनाइटेडमाथि ९–० को फराकिलो जित निकालेको हो। प्लानिङका सेल्भम केसीले एक गोल गरेका थिए। यससँगै जारी लिगमा तीन खेलबाट चर्च ब्वाइजले पहिलो जित निकालेको हो।
चर्च ब्वाइज पहिलो खेलमा फ्रेन्ड्स क्लब र दोस्रो खेलमा एपिएफसँग पराजित भएको थियो। प्लानिङ ब्वाइजको पनि तेस्रो खेलमा दोस्रो हार हो। प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लबलाई हराउँदै सुखद सुरुआत गरेको थियो। तर, दोस्रो खेलमा मच्छिन्द्र क्लबसँग हार सामना गर्यो।
आफ्नो तेस्रो खेलमा पनि प्लानिङले चर्च ब्वाइजसँग लज्जापूर्ण हार बेहोर्यो। चर्च ब्वाइजले पहिलो हाफमा चार र दोस्रो हाफमा पाँच गोल गरेको हो। खेलको पहिलो मिनेटमा नै सुशानको गोलबाट चर्च ब्वाइजले अग्रता लियो। त्यसपछि चर्च ब्वाइजको लगातारको आक्रमण प्लानिङले रोक्न नै सकेन।
२८औं मिनेटमा स्वप्निलले गोल गर्दै अग्रता दोब्बर बनाए। सुशानले ३२औं मिनेटमा अर्को गोल थपे। त्यसको तीन मिनेटपछि नै स्वप्निलले व्यक्तिगत दोस्रो गोल गरे। यससँगै पहिलो हाफमा चर्च ब्वाइज ४–० ले अगाडि रह्यो। दोस्रो हाफ सुरु भएको केही समय प्लानिङले आत्मघाती गोल सामना गर्नुपर्यो। ५५औं मिनेटमा सेल्भम आफ्नै पोस्टमा गोल गर्न पुगे।
६४औं मिनेटमा स्वप्निलले ह्याट्रिक पूरा गरे। सुशानले पनि ७३औं मिनेटमा ह्याट्रिक गरे। यससँगै चर्च ब्वाइजले ७–० को फराकिलो अग्रता बढायो। त्यसपछि सुशानले ८२औं र ८४औं मिनेटमा अर्को दुई गोल थप्दै व्यक्तिगत गोलसंख्या पाँच पुर्याए। यससँगै चर्च ब्वाइजले प्लानिङ ब्वाइजमाथि ९–० को फराकिलो जित निकाल्यो।
दिनको दोस्रो खेलमा फ्रेन्ड्सले संकटालाई ३–१ ले हरायो। फ्रेन्ड्सको जितमा मन्दीप ढुङ्गलले दुई तथा प्रवत बिसीले गोल गरे। संकटाका पेम्बा तामाङले एक गोल फर्काए पनि हार टार्न सकेनन्। संकटाको तेस्रो खेलमा यो पहिलो हार हो। यसअघि संकटाले पहिलो खेलमा जावलाखेल र दोस्रो खेलमा एनआरटीलाई हराएको थियो।
फ्रेन्ड्सको भने तेस्रो खेलमा तेस्रो जित हो। यसअघि पहिलो खेलमा चर्च ब्वाइजलाई हराएको फ्रेन्ड्सले दोस्रो खेलमा भने पुलिससँग हार सामना गर्नुपरेको थियो। ललितपुरे क्लब फ्रेन्ड्सले तेस्रो खेलमा भने जित निकाल्दै अंकतालिकाको शीर्षतामा दाबेदारी दिएको छ।
पहिलो हाफ सकिन लाग्दा फ्रेन्ड्सले अग्रता लिएको हो। ४५औं मिनेटमा मन्दीपले गोल गरेका थिए। ६५औं मिनेटमा प्रबतले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाए। त्यसको पाँच मिनेटपछि नै संकटाका पेम्बाले गोल गर्दै अग्रता फर्काउने प्रयास गरे। तर, त्यसपछिको समयमा थप गोल हुन सकेन र फ्रेन्ड्सले सहजै जित निकाल्यो।
प्रकाशित: २८ असार २०८२ ०९:१५ शनिबार




-600x400.jpg)
