२६ श्रावण २०८३ मंगलबार
image/svg+xml
खेल

अमेरिकी धावक कोच डोपिङ टेस्टमा फेल, तीन वर्षको प्रतिबन्ध

अमेरिकी मध्यदूरी धावक जोनाह कोचलाई रक्त डोपिङ गरेको आरोपमा तीन वर्षका लागि खेलकुदबाट प्रतिबन्ध लगाइएको छ। अमेरिकी डोपिङ नियन्त्रण निकाय (यूएसएडीए)ले उनको ‘एथलिट बायोलोजिकल पासपोर्ट’मा असामान्य रक्त संकेत देखिएपछि डोपिङ उल्लंघन पुष्टि भएको जनाएको छ।

एथलिट बायोलोजिकल पासपोर्टमा खेलाडीको रक्तसम्बन्धी सूचकहरूलाई लामो समयसम्म निगरानी गरिन्छ। प्रत्यक्ष रूपमा प्रतिबन्धित पदार्थको परीक्षणमा नदेखिए पनि रगतमा अस्वाभाविक परिवर्तन देखिए त्यसबाट डोपिङको संकेत पहिचान गर्न सकिन्छ।

२९ वर्षीय कोचले गत वर्षको अमेरिकी आउटडोर च्याम्पियनसिपमा पुरुष १,५०० मिटर दौडमा अप्रत्याशित रूपमा स्वर्ण जितेका थिए। उनले ३ मिनेट ३०.१७ सेकेन्डको समय निकाल्दै प्रतियोगिताको कीर्तिमानसमेत बनाएका थिए। त्यस क्रममा उनले इथान स्ट्रान्ड, सन् २०२४ का ओलम्पिक स्वर्ण विजेता कोल हकरलगायतका धावकलाई पछि पारेका थिए। डोपिङ उल्लंघन पुष्टि भएपछि उनको उक्त उपाधि खोसिएको छ।

प्रतिबन्धित पदार्थ वा प्रतिबन्धित विधि प्रयोग गरेको स्वीकार गरेपछि उनलाई तीन वर्षको प्रतिबन्ध सुनाइएको यूएसएडीएले जनाएको छ। उनका सम्बन्धित प्रतिस्पर्धाका नतिजा र पुरस्कारसमेत रद्द गरिएको छ।अब उनको प्रतिबन्ध सन् २०२९ सम्म रहनेछ।

प्रकाशित: २६ श्रावण २०८३ ०७:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App