चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–२८ जितपुरमा बाघको आक्रमणबाट ६५ वर्षीय मंगले बोटेको मृत्यु भएको हो।
मंगलबार बिहान ५ बजेको आसपास मंगले र सोही स्थानका ५५ वर्षीय जीवन बोटे मर्निङवाकमा निस्किएका थिए। सो क्रममा मंगले सम्पर्कविहीन भएपछि बिहान करिब ८ बजे प्रहरीलाई खबर गरिएको थियो।
खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। स्थानीयले उक्त क्षेत्रमा बाघ देखिएको जानकारी दिएपछि प्रहरीले नेपाली सेना, चितवन राष्ट्रिय निकुञ्जको प्रशासनिक टोली तथा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी हात्तीको सहयोगमा बोटेको खोजी सुरु गरेको थियो।
खोजीका क्रममा दिउँसो करिब ४ बजेर २० मिनेटमा घटनास्थलबाट करिब ४–५ किलोमिटर पूर्वतर्फ राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघले आक्रमण गरेको अवस्थामा एक व्यक्तिको शव फेला परेको थियो।
फेला परेको शव मंगले बोटेको भएको उनका छोराले सनाखत गरेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २६ श्रावण २०८३ १८:४१ मंगलबार





