सरकारले ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा पाउँदै आएको भाडा छुट अनिवार्य रूपमा उपलब्ध गराउन सम्बन्धित निकायलाई पुनः ताकेता गरेको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको ज्येष्ठ नागरिक संरक्षण शाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउँदै ज्येष्ठ नागरिकलाई कानूनबमोजिमको छुट तथा सुविधा उपलब्ध गराउन अनुरोध गरेको हो।
मन्त्रालयले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ९ मा सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकका लागि विशेष सुविधा सुनिश्चित गरिएको उल्लेख गरेको छ।
ऐनअनुसार सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसिमका सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारीधनी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा दुईवटा सीट सुरक्षित राख्नुपर्ने व्यवस्था छ।
त्यस्तै, ज्येष्ठ नागरिकलाई यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने कानूनी व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।
तर, कानूनमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि सार्वजनिक यातायातमा छुट नपाएको भन्दै ज्येष्ठ नागरिकबाट निरन्तर गुनासो आइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले अधिकांश ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा आफूले पाउनुपर्ने छुट नपाएको गुनासो गरेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
पत्रमा ज्येष्ठ नागरिकले कानूनबमोजिम पाउने छुट तथा सुविधा अनिवार्य रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गरिएको छ।
मन्त्रालयको यो पत्र कार्यान्वयनमा आए सार्वजनिक यातायात प्रयोग गर्ने ज्येष्ठ नागरिकले हाल भोग्दै आएको छुटसम्बन्धी समस्या समाधान हुने अपेक्षा गरिएको छ। साथै, सार्वजनिक यातायात सञ्चालकले ज्येष्ठ नागरिकका लागि तोकिएका सीट र भाडा छुटको व्यवस्था पालना गर्नुपर्ने देखिएको छ।

प्रकाशित: २६ श्रावण २०८३ १८:५६ मंगलबार





