११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

तीन दिनको झरीमा कहाँ कति क्षति ?

तीन दिनदेखि लगातार परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले देशका विभिन्न जिल्लामा जनजीवन प्रभावित भएको छ। बाढीपहिरोका कारण पाल्पा र बागलुङमा मात्रै छ जनाको मृत्यु भएको छ भने पाल्पामा तीन जना बेपत्ता छन्। 

मधेस, गण्डकी, लुम्बिनी, बागमतीलगायत प्रदेशका विभिन्न जिल्लामा घर तथा भौतिक संरचनामा क्षति पुगेको छ भने मुख्य राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन्। 

पाल्पाको माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुवै जनाको शव निकालेर जिल्ला अस्पताल पाल्पामा परीक्षणका लागि राखिएको छ। 

माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टामा पहिरोले लिलबहादुर घर्तीमगरको घर पुरिँदा उनका परिवारका दुई जना र छिमेकीकी एक छोरी गरी तीन जना बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बागलुङको निसीखोला गाउँपालिका–३ मा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो।

सप्तरीमा सयौँ घर डुबानमा

सप्तरीमा सप्तकोशी नदीको जलसतह बढेपछि हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका बस्ती डुबानमा परेका छन्। प्रहरीका अनुसार तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कङ्कालिनी नगरपालिका क्षेत्रमा २५० भन्दा बढी घर डुबानमा परेका छन्। 

हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२ र १३ का बस्तीमा बाढी पस्दा ४८३ घर प्रभावित भएको स्थानीय तहले जनाएको छ। तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा समेत बाढी पसेको छ। कोशी बाँधको दक्षिणतर्फ हनुमाननगर कङ्कालिनी नगरपालिका–७, ११ र १२ क्षेत्रमा थप २०० घरमा पानी पसेको प्रहरीले जनाएको छ। 

बाढी प्रभावितका लागि तत्काल दुई छाक खानाको व्यवस्था गरिएको र पानीको सतह घटेपछि प्रभावित परिवार पहिचान गरी थप राहत उपलब्ध गराउने स्थानीय प्रशासनले जनाएको छ।

मधेसमा तीन सयभन्दा बढी घर डुबानमा 

मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन्। सप्तरीसँगै धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा अविरल वर्षाका कारण घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ।धनुषाको मिथिला नगरपालिका–११ अपागाछीमा पहिरोमा पुरिएर ३५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको छ।

कालीगण्डकीको बाढीले घर र पुल बगायो 

कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्से र लस्ती बजारमा घर बगाएको छ। सशस्त्र प्रहरीका अनुसार मान्छे बस्ने ६६ घर बगेका छन् भने टहरा, गोठलगायत संरचनासमेत जोड्दा क्षतिग्रस्त संरचनाको संख्या करिब ८० पुगेको छ। थप २३ घर उच्च जोखिममा छन्। जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। 

गुल्मीको रिडी क्षेत्रमा कालीगण्डकीको जलसतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। रुरुक्षेत्र गाउँपालिका–१ लामाचौपारीमा नदी किनारमा पसल सञ्चालन गरी बसेका सात घरधुरीलाई आफन्तको घरमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। 

म्याग्दीको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर तथा वडा नं २ भुरुङ–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ। यसका कारण अन्नपूर्ण गाउँपालिकाका केही वडाको मुस्ताङसँगको यातायात सम्पर्क प्रभावित भएको छ। बेनी–जोमसोम सडकअन्तर्गत खामभित्तामा समेत नदीले सडक कटान गरेको छ। 

राजमार्गमा व्यापक अवरोध  

बाढीपहिरोका कारण पृथ्वी राजमार्ग, बिपी राजमार्ग, कान्ति राजमार्गलगायत प्रमुख सडकमा यातायात प्रभावित भएको सडक विभागले जनाएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर, तिङ्ग्राङखानी, बाङ्गे र चालिसेमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। 

नारायणगढ–मुग्लिन सडकको नाम्सी खोला पुलमा लेदोसहितको पहिरो खसेपछि यातायात रोकिएको छ। बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा सडक सञ्चालनमा समस्या भएको छ। कान्ति राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात बन्द छ। 

मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकको पर्वतस्थित तमादी खोलामा पहिरो खसेको छ। कालीगण्डकीले सहस्रधारामा सडक कटान गरेको छ। बागलुङका दर्जनौँ ग्रामीण सडकमा समेत पहिरो खसेपछि सदरमुकामसँगको यातायात सम्पर्क प्रभावित भएको छ। 

कर्णाली प्रदेशका कर्णाली करिडोर, कर्णाली राजमार्ग, मध्यपहाडी राजमार्ग र राप्ती राजमार्गका विभिन्न खण्डमा पहिरोका कारण यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक सञ्चालनका लागि सम्बन्धित सडक डिभिजन कार्यालयबाट जेसिबी, स्काभेटरलगायत उपकरण परिचालन गरिएको छ। 

स्याङ्जामा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको वालिङ–स्याङ्जा खण्ड अवरुद्ध भएको छ। पुतलीबजार नगरपालिका–१ तीनधारे र वालिङ नगरपालिका–१ रामबाच्छामा पहिरो खसेको प्रहरीले जनाएको छ।

बाढीले विद्युत् संरचनामा पनि क्षति

भारी वर्षाका कारण राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर बाढीले बगाएको ऊर्जा मन्त्रालयले जनाएको छ। क्षतिको मूल्याङ्कन गरी विद्युत् प्रणाली पुनःस्थापना तथा सञ्चालनका लागि प्राविधिक पहल अघि बढाइएको मन्त्रालयले जनाएको छ। 

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ सिर्पाली चोकनजिक लगातारको वर्षाका कारण १० वटा विद्युत् पोल ढलेका थिए। पोल ढलेपछि अवरुद्ध सडकमा लत्रिएका तार व्यवस्थापन गरिएपछि बिहानदेखि एकतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

चितवनमा २२२ मिलिमिटरभन्दा बढी वर्षा 

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा चितवनको माडी कल्याणपुर मौसम मापन केन्द्रमा रेकर्ड भएको छ। केन्द्रका अनुसार त्यहाँ २२२ दशमलव ४ मिलिमिटर वर्षा भएको छ। 

चितवनको नारायणी नदी र रिउ खोलामा पानीको सतह खतरा तहभन्दा माथि पुगेको छ। नारायणीको जलसतह ९ दशमलव ९२ मिटर पुगेको छ, जबकि खतरा तह ९ मिटर मानिन्छ। माडीको रिउ खोलाको जलसतह ४ दशमलव ७९ मिटर पुगेको छ भने यसको खतरा तह ३ दशमलव ८० मिटर हो। 

यसैबीच, बर्दियाका विभिन्न स्थानमा तीन घरमा क्षति पुगेको छ। गुलरिया नगरपालिका–१ छेदापुर चोकमा पाँच कच्ची घरमा पानी पसेपछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। बढैयाताल गाउँपालिका–१ मा पनि एक कच्ची घरमा पानी पसेको प्रहरीले जनाएको छ। 

रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ टपमझुवा क्षेत्रमा तिनाउ नदीको बाढीले दुई पक्की र चार कच्ची गरी छ घर बगाएको छ। मानवीय क्षति नभए पनि जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। 

गुल्मीमा बाढी, पहिरो र हावाहुरीका कारण ११ परिवार विस्थापित भएका छन्। विभिन्न स्थानमा घरमा क्षति पुग्नुका साथै गोठ भत्किँदा पशुचौपाया मरेका छन्। 

प्रकाशित: ११ आश्विन २०८३ १५:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App