हेटौंडाका नीरज श्रेष्ठ शुक्रबार दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेका छन्।
छोरतेन स्नुकर क्लब बौद्धको आयोजनामा भइरहेको प्रतियोगितामा नीरजले सेल्फका केसीलाई ३–१ को फ्रेममा पराजित गरे। विराटनगरका सरोज गौतम, खसौलीका गणेश थापा, दीप लभका परिवेश रेग्मी, बगरकोटका निर्मलकुमार तामाङ, पोखराका दीपेश क्षेत्री र खसौलीका अमर थापा मगर पनि तेस्रो चरणमा पुग्न सफल भए। प्रतियोगितामा २ सय ५६ बढी खेलाडीको सहभागिता रहेको छ।
प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ लाख ५१ हजार, १ लाख ११ हजार र ५१/५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। १ सय ४७ अंक ब्रेक गर्नेलाई १० लाख, सेन्चुरी ब्रेक गर्नेलाई १ लाख १ हजार र ८० अंकसम्म ब्रेक गर्नेलाई २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।
उत्कृष्ट खेलाडीलाई २५ हजार तथा उदीयमान खेलाडी, अनुशासित खेलाडी र क्वार्टरफाइनल पुग्ने खेलाडीलाई जनही ११ हजार नगद पुरस्कार दिइनेछ। प्रिक्वार्टर फाइनल यात्रा तय गर्ने खेलाडीलाई क्यु र क्यु बक्स प्रदान गरिनेछ। नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघको प्राविधिक सहयोगमा प्रतियोगिता भइरहेको हो।
प्रकाशित: ८ आश्विन २०७९ ०१:१७ शनिबार





