७ वैशाख २०८१ शुक्रबार
खेल

दुबई विमानस्थलको विशेष योजना

फाइल तस्बिर।

अन्तर्राष्ट्रिय उडान हुँदा धेरैजसो ट्रान्जिट हुने गरेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलले विश्वकपका लागि कतार जाने यात्रुका लागि सहजीकरण गर्ने भएको छ। विश्वकपका लागि कतार जाने यात्रुलाई गन्तव्यमा छिटो र सहज तरिकाले पुर्‍याउनका लागि विशेष योजना ल्याउन लागेको जनाएको हो।

मध्यक्षेत्रमा आयोजना हुन लागेको विश्वकप नोभेम्बर २० तारिखबाट आयोजना हुँदै छ भने डिसेम्बर १८ मा समापन हुने तालिका रहेको छ। युएईले समर्थकलाई ट्रान्जिटमा प्रक्रिया पार गर्ने प्रावधानलाई खुकुलो बनाउन सहमत भएको दुबई अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख पाउल ग्रिफिट्सले बताए।

‘हामीले समग्रमा अध्यागमन विभागमा सामान्य प्रक्रियालाई मात्र अपनाउने योजना मिलाएका छौं। दुई देशबीच ट्रान्जिटको समय धेरैभन्दा धेरै कम बनाउने प्रबन्ध मिलाउने गृहकार्य भइरहेको छ,’ दुबई अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख ग्रिफिट्सले भने, ‘अनलाइनबाट भएको चेकजाँचपश्चात् अन्य जाँचलाई बाइपास गर्ने योजना लिएका छौं। यद्यपि समर्थकको परिचय भने झल्किने कुनै आधार हुनुपर्नेछ। यसले गर्दा समर्थकलाई भित्रबाहिर गर्न छिटोछरितो हुने विश्वास लिएका छौं।’

विश्वभर फैलिएको महामारीको अवस्थामा पनि दुबईको विमानस्थल अत्यधिक व्यस्त विमानस्थलमा सूचीकृत थियो। अन्तर्राष्ट्रिय यात्रुले लबी भरिँदा विमानस्थलले व्यवस्थापनमा निकै चुनौती भोग्नुपरेको थियो। तर पनि दुबईले यात्रु व्यवस्थापनमा उदाहरणीय काम गरेको थियो। कतार र युएईबीच गत जनवरीमा मात्र हवाई सेवा सञ्चालन सुचारु भएको थियो। कूटनीतिक छलफलपछि अन्तर्राष्ट्रिय फ्लाइट सुचारु हुनुपूर्व खाडी राष्ट्रहरूले कतारसँगको सम्बन्ध टुटाएका थिए।

विश्वकप आयोजनाका लागि कतारले पूर्वाधार निर्माण गरिरहेको अवस्थामा अन्य खाडी मुलुकले सम्बन्ध टुटाएका थिए। तर पनि कतारले विश्वकप आयोजनाका लागि पूर्वाधार निमार्ण गर्न सफल भएको थियो। २०१७ मा युएई, साउदी अरेबिया, बहराइन र इजिप्टले इस्लामिक कट्टरपन्थी निर्णयलाई नमान्ने भन्दै कतारलाई सहयोग गर्ने बताएका थिए।  

प्रकाशित: ३ भाद्र २०७९ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App