१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

‘अब सायदैले ४० वर्षमा टेस्ट खेल्छन्’

जेम्स एन्डरसन

इङ्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले खेलको बदलिँदो प्रकृतिका कारण ४० वर्षको उमेरसम्म टेस्ट क्रिकेट खेल्नु छिटै विगतका कुरा बन्ने बताएका छन्।

एन्डरसन, जो गत महिना मात्र ४० वर्षको वसन्त पूरा गरेका थिए। उनै एन्डरसनले अब यो उमेरसम्म टेस्ट क्रिकेट खेल्न खोज्नु बिस्तारै विगतका रूपमा मात्र सीमित हुने उल्लेख गरेका हुन्। एन्डरसनले सन् २००३ को मेमा जिम्बाब्वेविरुद्धको खेलबाट टेस्टमा डेब्यु गरेका थिए। त्यसयता उनले एक सय ७२ खेलमा ६ सय ५७ विकेट पूरा गरिसकेका छन्। अझै पनि उनी इङ्ल्यान्डका लागि राम्रो टेस्ट बलर हुन् र बुधबार दक्षिण अफ्रिकाविरुद्ध लर्ड्समा जारी टेस्टमा उनले इङ्लिस टोलीको बलिङ अट्याकको नेतृत्व गरिरहेका छन्।

दक्षिण अफ्रिका र इङ्ल्यान्डबीच बुधबारबाट तीन खेलको टेस्ट शृंखला सुरु भएको छ। उनी मात्र होइनन्, यसअघि इङ्ल्यान्डबाट धेरै क्रिकेटरले ४० वर्षको वसन्त पूरा गरिसक्दा पनि क्रिकेट खेलेका उदाहरण छन्। इङ्ल्यान्डकै पूर्वब्याट्सम्यान ग्राहम गुचले पनि ४० को वसन्तमा इङ्लिस टोलीको प्रतिनिधित्व गर्थे। सन् १९९४ को नोभेम्बरमा ४१ वर्षसम्म उनले टेस्ट क्रिकेट खेले। इङ्ल्यान्डकै तीव्र गतिका बलर लेस ज्याक्सनले लामो समयसम्म फस्ट क्लास क्रिकेट खेले। उनले डेब्यु गरेको १२ वर्षपछि करियरको अन्तिम दुई टेस्ट सन् १९६१ मा ४० वर्ष हुँदा खेलेका थिए।

आफूसँगै लामो समय राष्ट्रिय टोलीबाट खेल्दै आएका ३६ वर्षे स्टुआर्ट ब्रोडले पनि ४० वर्षसम्म टेस्ट खेल्न सक्ने उल्लेख गर्दै एन्डरसनले त्यसपछाडि कसैले त्यो सफलता प्राप्त गर्नेमा भने दुबिधा नै रहेको बताएका छन्। ‘कोही पनि यति धेरै मूर्ख बन्न चाहँदैन,’ एन्डरसनले भने, ‘विश्व नै अब फ्रेन्चाइज क्रिकेटतर्फ अग्रसर भैसकेको छ। द हन्ड्रेड, टी–१० र अन्य छोटो फरम्याटका क्रिकेट अब खेलाडीको रोजाइमा पर्न थालिसकेको छ। त्यसैले कोही पनि यति धेरै लामो समय टेस्ट क्रिकेट खेल्न चाहँदैन र अहिले पनि मैले त्यो स्थिति देखेको छैन।’ एन्डरसन गत मार्चमा वेस्ट इन्डिज भ्रमण हुँदा टोलीमा स्थान बनाउन असफल रहे।

तर, गत जुनमा उनी न्युजिल्यान्डसँगको टेस्ट क्रिकेटमार्फत टोलीमा फर्किए। त्यसपछि उनले भारतसँगको एक मात्र टेस्ट क्रिकेटमा खेले र ३२औं पटक पाँचौं विकेट लिन सफल भए। एन्डरसनले अझै पनि क्रिकेटप्रति आफूसँग लगाब रहेको प्रतिक्रिया दिए। ‘इङ्ल्यान्डबाट खेल्नु गर्वको क्षण हो। अहिले पनि राष्ट्रिय टोलीमा रहनुलाई आफू भाग्यमानी भएको महसुस हुन्छ,’ एन्डरसनले भने, ‘क्रिकेटप्रति धेरै माया छ र खेलाडी करियरको यात्रालाई लामो समय जारी राख्न चाहन्छु। साथै त्यही अनुरूप राम्रो अभ्यास गर्नेछु।’ जब हरेक परिणामको गति सुस्त हुँदै जाँदा आफ्ना लागि राष्ट्रिय टोलीको ढोका पनि बन्द हुने उनको भनाइ छ।

‘जब हरेक परिणामको गति सुस्त हुँदै जान्छ, त्यसपछि सबै ढोकाहरू बन्द हुन्छन्। तर, मेरा लागि अहिलेसम्म त्यो स्थिति आइसकेको छैन। मेरो शरीरले अझै पनि राम्रोसँग काम गरेको छ, त्यसैले जिम्मेवारी पनि राम्रोसँग निर्बाह गर्न पाएको छु। त्यसका कारण पनि आफूलाई भाग्यमानी ठान्छु,’ एन्डरसनले भनेका छन्।

यद्यपि, एन्डरसनले संन्यासबारे भने सोचिरहेको खुलासा गरे। ‘सम्भवतः मैले पनि यसबारे सोचेको थिएँ। अस्ट्रेलिया भ्रमणमा मैले त्यसबारे सोचेको थिएँ,’ मुस्कुराउँदै उनले भने, ‘सबैभन्दा ठूलो कुरो जब हामी घाइते हुन्छौं, त्यस समयमा मात्र यसबारे सोचिन्छ। पुनस्र्थापन या फिट हुन संघर्ष गर्नु की संन्यास लिनु भन्ने कुरा मनमा आउँछन्। केही वर्षअगाडि चोट बोक्दा पनि मैले संन्यासबारे सोचेको थिएँ।’

प्रकाशित: २ भाद्र २०७९ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App