१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

रोजालाई ट्रायथोलनमा कांस्य

गुवाहटी- नेपालले १२ औं दक्षिण एसियाली खेलकुदमा शनिबार ट्रायथोलनबाट पदक जितेको छ। डा. जाकिर हुसेन स्टेडियमको एक्वाटिक सेन्टरमा भएको ट्रायथोलनको महिला डिसिप्लिनमा रोजा केसीले पदक जितेकी हुन्।

साग खेलकुदमा ट्रायथोलन पहिलोपल्ट समावेश गरिएको हो। पौडी ७५० मिटर, साइक्लिङ २० किमी र दौड ५ किमीको उक्त इभेन्टमा रोजाले सफलता पाएकी हुन्। उनले एक घन्टा १६ मिनेटको समय लगाइन्। पौडीवाज १७ वर्षीया रोजा सातौं राष्ट्रियका लागि भएको राष्ट्रिय च्याम्पियनसिपमा दोस्रो भएकी थिइन्। पोखरामा भएको च्याम्पियनसिपपछि उनी टोलीमा परेकी हुन्। उनी आफ्नो प्रदर्शनमा निकै सुधार गरेकी छिन्।

नेपालकी अर्की प्रतिस्पर्धी यमकुमारी घले पाँचौं स्थानमा रहिन्। उनले १ घन्टा २० मिनेट २९ सेकेन्डमा सबै पूरा गरेकी थिइन्। यस इभेन्टमा स्वर्ण र रजत भारतीय खेलाडीले जितेका थिए। पल्लवी रेतिवालले १ घन्टा ११ मिनेट ५७ सेकेन्डबाट स्वर्ण र पूजा चौरसियाले १ घन्टा १२ मिनेट ३६ सेकेन्डबाट रजत पदक जितेका थिए।

पुरुषतर्फ स्ट््यान्डर्ड डिसिप्सिन पौडी १.५ किमि, साइक्लिङ ४० किमी र दौड १० किमीको नेपालका रुद्र कटवाल र टिकाराम थापा पुछारको दुई स्थान (पाँचौं र छैटौं) मा रहे। रुद्रको २ घन्टा २३ मिनेट ४० सेकेन्ड तथा टिकारामको २ घन्टा ३० मिनेट ३३ सेकेन्डको समय थियो। पहिलो भएका भारतका दिलीप कुमारले २ घन्टा २ मिनेट ५३ सेकेन्डबाट स्वर्ण र गुरु दत्तले २ घन्टा ५ मिनेट ३१ सेकेन्डबाट रजत पदक जितेका थिए। श्रीलंकाली नुवान कुमारा २ घन्टा १० मिनेट ३८ सेकेन्डबाट कांस्यका हकदार भए।

आइतबार मिक्स रिलेमा प्रतिस्पर्धा गर्नेछ। नेपालले यसबाट पनि पदक आशा गरेको छ।

तीन महिनादेखि ट्रायथोलनका खेलाडीहरू डेनमार्कका पिटर ज्याकोब्सनको प्रशिक्षणमा छन्। उनको प्रशिक्षणबाट खेलाडीको प्रदर्शन निकै सुधार आएको ट्रायथोलनका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले जानकारी गराए। उनले भने, 'छोटो तयारीका बावजुद खेलाडीले राम्रो प्रदर्शन गरेका छन्। उनीहरू शारीरिक र प्राविधिक दुवै रुपमा अलि सशक्त बनेका छन्।'

ट्रायथोलन खेल नेपालमा चार वर्षयता सक्रिय छ। उनले शून्यबाट सुरु गरेको खेलबाट सफलता पाउनु आफूहरुका लागि प्रोत्साहनजनक भएको अध्यक्ष श्रेष्ठले बताए।

महिला टोली सेमिफाइनलमा
नेपाली महिला कबड्डी टोलीले शनिबार बंगलादेशसँग १७–२४ अंक अन्तरले पराजित भएको छ। राउन्ड रोबिनअन्तर्गत आफ्नो अन्तिम खेलमा हारेपछि नेपाल ५ टोलीमा चौथो भई सेमिफाइनल पुगेको छ।

नेपालले शीर्ष स्थान बनाएको भारतविरुद्ध अन्तिम चारमा भिडन्त गर्नेछ। शीर्ष चार स्थान बनाएको नेपाल कम्तीमा कांस्य पदकको पनि हकदार बनेको छ।

नेहेरु स्टेडियमको इन्डोर हलमा शनिबार नेपालले सुरुआतमा ६–४ ले अग्रता बनाए पनि त्यही लय कायम राख्न सकेन। नेपाली महिला खेलाडीले सामान्य गल्ती गरी अंक गुमाएपछि बंगलादेश खेलमा फर्केको थियो। मध्यान्तरको सिठ्ठी बज्दा नेपाल ८–१७ ले पछाडि थियो।

नेपालको पुरुष कबड्डी टोलीले शनिबार श्रीलंकासँग ३२–१३ अंक अन्तरले हार्यो । यस नेपालको लगातार तेस्रो हार हो। यद्यपि नेपालले आफ्नो अन्तिम खेलमा ंबंगलादेशविरुद्ध खेलेर कम्तीमा कांस्य पदकका लागि मौका बाँकी छ। पूर्वाद्ध सकिँदा श्रीलंकाको पक्षमा स्कोर १६–६ थियो। खेलमा श्रीलंकाले नेपाललाई पूर्वाद्ध र उत्तरार्द्धमा दुवैपटक अलआउट गर्न सफल भयो।

पदकमा भारतको वर्चस्व

अघिल्लो दिन दुई पदकविहीन बनेको नेपालले जारी सागमा कुल ३४ पदक संख्या पुर्याूएको छ। नेपाल पदकतालिकामा पाँचौ स्थानमा छ। त्यसमा १ स्वर्ण, १२ रजत र २१ कांस्य पदक छ।

आयोजक भारत १ सय ४८ स्वर्णसहित कुल २ सय ५३ पदक जितेर पहिलो स्थानमा छ। श्रीलंकाले २५ स्वर्णसहित १ सय ५८ पदक तथा पाकिस्तानले ८ स्वर्णसहित ७४ पदक जित्दै दोस्रो र तेस्रो स्थानमा छन्। बंगलादेशले ४ स्वर्णसहित कुल ५८ पदक जितेर चौथो स्थान ओट्दा अफगानिस्तानले १ स्वर्णसहित १५ पदक जितेर छैटौं, माल्दिभ्सले २ रजत र १ कांस्य तथा भुटानले १ र ४ कांस्य पदक जितेका छन्।

प्रकाशित: १ फाल्गुन २०७२ २२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App