coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुद:भदौ २५ भित्र नाम दर्ता गर्नुपर्ने

आगामी भदौ अन्तिम साताभित्र राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश हुने खेलाडीको नामावली दर्ता गर्न सबै खेल संघलाई राष्ट्रिय खेलकुद परिषद्ले आग्रह गरेको छ। 

भदौ २५ गतेभित्र दर्ता नभएका खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगितामा पाउने सुविधाबाट वञ्चित हुने परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बताए। ‘सबै खेल संघले आफ्ना खेलाडीको अन्तिम नामावली भदौ २५ गतेभित्र बुझाइसक्नुपर्नेछ,’ खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामा सोमबार आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव घिसिङले भने, ‘त्यसभन्दा पछि दर्ता हुने खेलाडी परिषद्बाट पाउने सुविधाबाट वञ्चित हुनेछन्। त्यसैले भदौ २५ गते सबै खेलाडीहरूले अन्तिम नामावली दर्ता गरिसक्नुपर्नेछ।’ भदौ अन्तिम साताभित्र खेलाडी दर्ता गरिसक्नुपर्ने परिषद्को प्रावधान रहे पनि विभिन्न खेलहरूको जिल्ला तथा प्रदेश छनोट प्रतियोगिता भने भइसकेको छैन।  

आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुँदै छ। ३६ खेलका ४ सय ७ इभेन्टमा खेलाडीले पदकको लागि प्रतिस्पर्धा गर्दै छन््। प्रदेशको जिल्लाहरूमा कुन–कुन खेल खेलाउने भन्ने निर्णय भने भइसकेको छैन। सातै प्रदेश, तीन विभागीय टोली र गैरआवासिय नेपाली (एनआरएन) को टोली गरी ११ टोलीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने परिषद्ले जनाएको छ।

सदस्यसचिव घिसिङले पोखराका विभिन्न खेलकुद पूर्वाधारको अवलोकन गरी सोमबार पत्रकार सम्मेलनमार्फत आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका हुन्। पोखरा रंगशाला, सहारा एकेडेमी, गोस्ते खेलमैदान लामाचौर, गण्डकी आवासीय विद्यालय लामाचौरको पूर्वाधारको प्रत्यक्ष अवलोकन गरेका थिए। सदस्यसचिव घिसिङले सातै प्रदेशमा ट्रफी टुर गराउने योजनासमेत सुनाए। ‘ट्रफी सुन र चाँदीजडित बनाइनेछ। ट्रफी बनेपछि सातै प्रदेश टुर गराइनेछ,’ उनले भने। 

परिषद्का सदस्यसचिव घिसिङले राष्ट्रिय खेलकुद प्रतियोगितालाई व्यवधान नहुने गरी निर्वाचन आयोगसँग परामर्श गरिएको स्पष्ट पारे। ‘राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रभावित नहुने गरी निर्वाचनका कार्यक्रम गर्न निर्वाचन आयोगसँग परामर्श गरेका छौं,’ सदस्यसचिव घिसिङले पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘निर्वाचन र राष्ट्रिय खेलकुद प्रतियोगिता दुवै सरकारका निर्णय हुन्। आम निर्वाचनले प्रतियोगितालाई प्रभावित नपारोस् भन्ने हो।’ उनले प्रतियोगितालाई प्रभावित बनाउने गरी निर्वाचनको तालिका नबनाउन समेत आयोगलाई आग्रह गरिएको बताए।  

परिषद्ले राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ कीर्तिमान राख्ने खेलाडीलाई ५० हजार रूपैयाँबाट पुरस्कृत गर्ने घोषणा गरेको छ। ‘राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई ५० हजार, व्यक्तिगततर्फ स्वर्ण पदक जित्ने खेलाडीलाई २५ हजार र टिम इभेन्टमा स्वर्ण पदक जित्नेलाई जनही १५ हजार रूपैयाँ प्रदान गरिनेछ,’ उनले भने। सदस्यसचिव घिसिङले बढीमा हप्ता÷दश दिनभित्रै पोखरा रंगशालाभित्रको फुटबल मैदान, प्यारापिट तयार हुने बताए। प्यारापिटको भिआइपी बस्ने ठाउँमा केही काम बाँकी छ। त्यो हप्ता-दश दिनभित्रमा तयार हुने उनको भनाइ थियो।  

प्रकाशित: २४ श्रावण २०७९ ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App