१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

इङ्ल्यान्डलाई पहिलो अन्तर्राष्ट्रिय उपाधि

अतिरक्त समयमा जर्मनीलाई २–१ ले निराश पार्दै महिला युरो कप २०२२ जितेसँगै इङ्ल्यान्डकी प्रशिक्षक सरिना वेजम्यानले विश्व फुटबलले आफ्ना खेलाडीलाई हेर्ने नजरमा परिवर्तन आउने प्रतिक्रिया दिएकी छिन्।

वेम्बलीमा उपस्थित कीर्तिमानी ८७ हजार १ सय १२ समर्थकमाझ इङ्ल्यान्डले क्लोइ केलीको निर्णायक गोलमा पहिलो अन्तर्राष्ट्रिय उपाधिको रूपमा युरो कप २०२२ को उपाधि पक्का गरेको थियो।

‘विश्व फुटबलले इङ्लिस महिला फुटबल टोलीलाई हेर्ने नजरमा परिवर्तन आउने छ,’ वेजम्यानले भनिन्, ‘हामी विजेताको पहिचान बनाउन सफल भएका छौं। यो विशेष उपलब्धि हो। हामी घरेलु मैदानमा उपाधि राख्न चाहन्थ्याैं र त्यसमा सफल पनि भयौं।’  

प्रतियोगिताअघि मात्र तिघ्राको चोटबाट मुक्त हुँदै केली टोलीमा फर्किएकी थिइन्। ६१ औं मिनेटमा एला टोलीको गोलमा इङ्ल्यान्डले अग्रता लिएको थियो। ७८औं मिनेटमा लिगा मागुलले जर्मनीलाई खेलमा फर्काएकी थिइन्। निर्धारित समय १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। १ सय १० मिनेटमा जर्मनीका खेलाडीले कर्नरमा आएको बल क्लियर गर्न नसक्दा केलीले बललाई जाली चुमाउँदै इङल्यान्डका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधि पक्का गरेकी थिइन्। ‘इङ्ल्यान्डको महिला फुटबल टोलीले सधैं दाबेदार रहे पनि कुनै पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको थिएन,’ केलीले भनिन्, ‘त्यसैले इङ्ल्यान्डबाट पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने जुन सपना थियो, त्यो आज पूरा भएको छ। मैले चोटमुक्त हुँदै टोलीमा पुनरागमन गरेकी हुँ। त्यसदौरान मलाई सहयोग गर्ने सबैप्रति आभारी छु।’

इङ्ल्यान्डको पुरुष टोली युरो कप २०२० को फाइनलमा प्रवेश गरे पनि पेनाल्टी सुटआउटमा इटालीलाई नतिजा सुम्पिएको थियो। आठ पटकको युरो कप विजेता जर्मनी भने खेलअघि प्रतियोगितामा टोलीकी सर्वाधिक गोलकर्ता एलेक्जान्ड्रा पोप बाहिरिएपछि निराश बनेको थियो। उनले प्रतियोगितामा ६ गोल गरेकी थिइन्।

जर्मनीकी प्रशिक्षक मार्टिना भोस टेक्लेनबर्ग भने पहिलो हाफमा इङ्ल्यान्डकी कप्तान लिय विलियम्सनले पेनाल्टी बक्समा ह्यान्ड गरे पनि पेनाल्टी नदिएको भन्दै रुष्ट बनेकी थिइन्।  

‘म आफ्नो आँसु रोक्न सक्दिनँ, हामी लामो समयदेखि अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोड्न चाहन्थ्यांै, आज त्यो तोड्न सफल भएका छौं,’ कप्तान विलियम्सनले भनिन्, ‘यो मेरो खेलजीवनकै गर्विलो क्षण हो।’

प्रकाशित: १७ श्रावण २०७९ ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App