coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘अनुशासित बलिङको निरन्तरताले नेपाललाई सफलता’

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपालका आसिफ शेख।

आइसिसी विश्वकप लिग–२ को शीर्ष टोली ओमानलाई पराजित गरेपछि नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अनुशासित बलिङको निरन्तरताले सफलता मिलेको बताएका छन्। त्रिकोणात्मक शृंखलामा बुधबार ओमानमाथि सात विकेटको जित निकाल्दै नेपालले विश्वकप लिग–२ मा सातौं सफलता प्राप्त गर्‍यो।

त्रिकोणात्मक शृंखलाका लागि अमेरिका भ्रमणमा रहेको नेपालको यो पहिलो जित पनि हो। ओमानसँगको पहिलो खेल गुमाएको नेपालले दोस्रो खेलमा भने अमेरिकासँग ‘टाइ’ को नतिजा सामना गरेको थियो। ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा १ सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले समालिएको ब्याटिङ गर्दै मात्र तीन विकेटको क्षतिमा १ सय १ बलअगावै जित आत्मसात् गर्‍यो।

‘यस शृंखलाभर नै हाम्रो राम्रो पक्ष भनेकै बलिङ हो। आज पनि बलिङ एकदम राम्रो र अनुशासित रह्यो। फास्ट बलिङमा झनै राम्रो प्रदर्शन भयो,’ कप्तान सन्दीपले भने, ‘ब्याटिङमा पनि ओपनरले उच्च प्रदर्शन गरे। त्यसैले हामीले सहज जित निकाल्यौं।’ कुल १५ खेलमा नेपालले ७/७ जित र हार सामना गर्दा एक बराबरी गरेको छ। यो जितसहित लिग–२ मा नेपाल पाँचौं स्थानमा उक्लिएको छ।

लिग–२ मा ६ राष्ट्र छन् र शीर्ष तीनमा रहने तीन टोली आगामी वर्ष हुने एकदिवसीय विश्वकपमा सीधै छनोट हुनेछन् र पुछारका चार राष्ट्रले भने प्लेअफ खेल्नुपर्ने हुन्छ। लिग–२ का सबै ६ टोलीले कुल ३६ खेल खेल्नेछन्। शीर्ष स्थानको ओमानले नेपालसँगको हारसँगै लिग–२ को प्रतिस्पर्धा अन्त्य गर्‍यो।

ओमानको ४४ अंक छ, जुन २० खेल खेलेको दोस्रो स्थानको स्कटल्यान्डको भन्दा १६ अंकले कम हो। संयुक्त अरब इमिरेट्स (युएई) को २२ खेलबाट २६ अंक र अमेरिकाको २३ खेलबाट २१ अंक छ। यी दुई क्रमशः तेस्रो र चौथो स्थानमा छन्। लिग–२ मा नेपालले अझै २१ खेल खेल्न बाँकी रहेकाले शीर्ष तीनको सम्भावना राम्रो छ।

शृंखलामा उत्कृष्ट बलिङ गरेका करण लिग–२ मा बाँकी २१ खेलमध्ये ७० प्रतिशत मात्र जित निकाले पनि शीर्ष तीनमा रहेर विश्वकपमा स्थान बनाउन सम्भव रहेको बताउँछन्। ‘हामी शीर्ष तीनभित्र पर्न सक्छौं भन्ने मलाई विश्वास लागेको छ। किनकि, हामीमा क्षमता छ र हामीले थोरै खेल मात्र खेलेका छौं। हामीले ७० प्रतिशत मात्र खेल जित्यौं भने शीर्ष तीनभित्र पर्न सक्छौं,’ उनले भनेका छन्।

शीर्ष टोली ओमानसँगको जितले नेपाललाई थप आत्मविश्वास प्रदान गर्नेछ। त्यसैले यो जित नेपालका लागि निकै महत्त्वपूर्ण रहेको छ। यद्यपि, नेपाली टोलीका कप्तान सन्दीपले भने हरेक खेलको जित उत्तिकै महत्त्वपूर्ण हुने प्रतिक्रिया दिए। ‘हरेक जित नेपालका लागि उतिकै महत्त्वपूर्ण छ। हाम्रो राम्रो पक्ष बलिङ हो। तर, आज ब्याटिङ पनि राम्रो रह्यो। तथापि, सुरुआतअनुसारको फिनिसिङ भने हुन सकेन,’ सन्दीपले भने।

नेपाली टोलीमा अलराउन्डर धेरै भएकाले त्यसको फाइदा पनि हुने गरेको सन्दीपको भनाइ छ। नेपालको जितमा करण केसीले पाँच विकेट लिए। करणले यसअघि यसै शृंखलामा ओमानसँगै पाँच विकेट लिएका थिए। यससँगै उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो पटक पाँच विकेट लिने नेपालका दोस्रो खेलाडी बने।

उनीबाहेक कप्तान सन्दीपको नाममा दुई पटक पाँच विकेटको रेकर्ड छ। मध्यम लक्ष्य पछ्याउँदा नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले यादागर इनिङ खेले। यो जोडीले कीर्तिमानी १ सय १४ रनको सतकीय साझेदारी गरे। जुन नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको दोस्रो ठूलो साझेदारी पनि हो। यस शृंखलामा ओमानसँगको पहिलो खेलमा भने ब्याटिङ नचल्दा नेपालले १३ रनको हार बेहोर्नुपरेको थियो। दोस्रो खेलमा अमेरिकासँग ‘टाइ’ हुन पुग्यो।

प्रकाशित: २ असार २०७९ ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App