१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

केनले इङ्ल्यान्डलाई जोगाए

कप्तान ह्यारी केनले राष्ट्रिय टोलीका लागि ५०औं गोल पूरा गरेपछि इङ्ल्यान्डले युइएफए नेसन्स लिगमा मंगलबार जर्मनीविरुद्ध बराबरी खेल्दा इटालीले हंगेरीविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको छ।

प्रतिस्पर्धात्मक बनेको जर्मनी र इङ्ल्यान्डबीचको खेलमा ह्यारी केनले पेनाल्टीबाट गोल गर्दै टोलीलाई हारबाट जोगाएका छन्। यससँगै उनले राष्ट्रिय टोलीका लागि ५०औं गोल समेत पूरा गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जर्मनीले सुरुआती अग्रता लिएको थियो।

५०औं मिनेटमा जोनस होफम्यानले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए। जर्मनीले अग्रता दुई मिनेट टिकाएको भए विजयी हुन्थ्यो। केनले ८८औं मिनेटमा पेनाल्टीमार्फत टोलीलाई हारबाट जोगाउन सफल भए। केनले राष्ट्रका लागि गोल गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।

‘गोल गर्न मलाई सधैँ मन पर्छ, विशेष गरी राष्ट्रका लागि गोल गर्न पाउँदा खुसी पनि लाग्छ,’ केनले भने, ‘मैले टोलीलाई सहयोग पुर्‍याउन सक्नु महत्त्वपूर्ण कुरा हो। गोल गर्नुअगाडि दुई राम्रा अवसर पाए पनि चुकें। यद्यपि आजको खेल यादगार बन्यो।’

इङ्ल्यान्डबाट ७१ अन्तर्राष्ट्रिय खेल खेलेका केनको यो देशका लागि पेनाल्टी मार्फत गरेको १५औं गोल थियो। केनले घरेलु मैदान र अवे खेलमा इङ्ल्यान्डको समान २० गोल गरेका छन्। विश्वकप छनोटका १४ खेलमा १७ गोल गरेका केनले युरोपियन च्याम्पियनसिप छनोटमा १३ खेलमा १५ गोल गरेका छन्। यस्तै उनले विश्वकपका ६ खेलमा ६ गोल गरे।

यस बराबरीसँगै लिग ‘ए’ समूह ३ को जर्मनीले २ खेलमा २ अंक जोडेको छ। जर्मनी समूहको तेस्रो स्थानमा छ। इङ्लिस टोलीले भने तालिकामा एक अंकको खाता खोलेको छ। समान खेलबाट इङ्ल्यान्डको १ अंक हुँदा तालिकाको पुछारमा छ।

यस समूहमा हंगेरीमाथि २–१ को रोमाञ्चक जित निकालेको इटाली शीर्ष स्थानमा छ। हंगेरीले २ खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा हंगेरीले इङ्ल्यान्डलाई १–० ले स्तब्ध बनाएको थियो। पुनरागमनमा बराबरी खेलेको इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले टोलीमा सुधारका पाटा धेरै रहेको भन्दै विश्वकप तयारी अझै खट्नुपर्ने बताए।

‘जर्मनी उत्कृष्ट टोली हो। अहिलेको अवस्थामा जर्मन टोली धेरै मजबुत छ। बलियो टोलीविरुद्ध अनुभव लिँदा हाम्रा कमीकमजोरीहरू उजागर भएका छन्,’ इङ्ल्यान्डका प्रशिक्षक साउथगेटले भने, ‘पछि परे पनि टोलीले सन्तुलित र सम्हालिएको प्रदर्शन गर्‍यो। म यसको प्रशंसा गर्छु। यो सम्भवतः अनुभवी खेलाडी मैदानमा उतार्नुको उपज हो। यी खेलाडीले विश्वकप र युरो कपको अनुभव लिएका छन्।’ 

उता अग्रता जोगाउन नसकेको जर्मनीले आफ्नो ११औं खेलसम्म अपराजित यात्रालाई निरन्तरता दिएको छ। शनिबार हंगेरीविरुद्ध खेल्ने टोलीका प्रशिक्षका हान्सी फ्लिकले नतिजा बराबरी भए पनि तारिफयोग्य खेल देखाउन नसकेकोमा असन्तुष्टि जनाए।

‘रणनीतिक हिसाबमा फुटबल खेल्यौं। नतिजाका हिसाबमा भने हामी चुक्यौं,’ फ्लिकले भने, ‘अन्तिमतिर टोलीले परिपक्व खेल देखाउन सकेन। पछि परेको इङ्ल्यान्डलाई रोक्ने रणनीतिमा रक्षापंक्तिबाट राम्रो भूमिका निर्वाह भएन।’

युइएफए नेसन्स कप अन्तर्गत मंगलबारकै अर्को खेलमा हंगेरीलाई २–१ ले निराश पार्दै इटालीले युइएफए नेसन्स लिगमा पहिलोे जित निकाल्यो। इटालीको जितमा निकोला बारेल्ला र लोरेन्जो पेलेग्रिनीले समान एक गोल गरे। इटालीकै जियानलुका मान्चिनीले आत्मघाती गोल गरेका थिए। सन २००७ पछि हंगेरी र इटालीबीच पहिलो पटक भिडन्त भएको हो। लगातार दोस्रो पटक विश्वकप गुमाएको इटालीले पछिल्ला सात खेलबाट दोस्रो जित निकालेको हो।

प्रकाशित: २६ जेष्ठ २०७९ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App