३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

न्यु डायमन्ड पहिलो खेलमै स्तब्ध

गण्डकीविरुद्ध स्पाईक ब्लक गर्ने क्रममा त्रिभुवन आर्मी क्लबका खेलाडी (हरियो) ।तस्बिरः नागरिक

साबिक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग प्रतियोगिताअन्तर्गत महिलातर्फको खेलमा पराजित हुँदा विभागीय टोली एपिएफ क्लबले लगातार दोस्रो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न महिलातर्फ दिनको पहिलो खेलमा साबिक विजेता न्यु डायमन्ड स्पोर्ट्सक्लब पोखराको एभरेस्ट भलिबल क्लबसँग ३–२ को सेटमा पराजित भएको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यु डायमन्डले पहिलो सेट २६–२४ ले गुमाए पनि दोस्रो र तेस्रो सेटमा जित निकाल्दै खेलमा फर्किने संकेत देखाएको थियो।

दोस्रो र तेस्रो सेटमा १३–२५, २०–२५ को जित निकालेको थियो। जित सुनिश्चित गर्न न्यु डायमन्डलाई चौथो सेट जित्नैपर्ने दबाब भए पनि सम्हालिएको प्रदर्शन गर्न नसक्दा २१–२५ ले गुमाउन पुगेको थियो। निर्णयका लागि खेल पाँचाैँ सेटमा पुग्यो। अन्तिम तथा निर्णायक सेट एभरेस्टले १५–१३ ले आफ्नो पक्षमा पारेपछि साबिक विजेता स्तब्ध भएको हो। एभरेस्टले भने दोस्रो खेलबाट पहिलो जित निकाल्न सफल भएको छ।

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरूणा शाही सम्मिलित एभरेस्ट यसअघि त्रिभुवन आर्मीसँग सोझो सेटमा पराजित भएको थियो। यससँगै न्यु डायमन्डले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। जित निकालेको एभरेस्टले अंकतालिकामा २ अंक जोड्दा पराजित न्यु डायमन्डले १ अंकको खाता खोलेको छ।

महिलातर्फ मंगलबार नै सम्पन्न दिनको दोस्रो खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। एपिएफले आर्मीलाई २७–२५, १३–२५, २५–२१, २५–२३ को सेटमा पराजित गर्दा आर्मीले जारी लिगमा पहिलो हार भोगेको हो। एपिएफ यसअघि नेपाल पुलिस क्लबसँग ३–१ को सेटमा पराजित भएको थियो। आर्मीले भने पहिलो खेलमा एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको थियो। प्रतियोगितामा समान दुई खेल खेलेका एपिएफ र आर्मीले समान तीन अंक जोडेका छन्।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खेलमा हेल्प नेपाल  स्पोर्ट्स क्लबले लगातार दोस्रो जित निकाल्दा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित निकालेको हो। कभर्ड हलमा सम्पन्न खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले गण्डकी प्रदेशलाई १३–२५, २७–२५, २८–२६, १४–२५ र १५–१३ ले तथा आर्मीले गल्कोट स्पोर्ट्स क्लबलाई २५–१२, २५–११ र २५–२२ ले पराजित गरेका थिए।

प्रतियोगितामा लगातार दोस्रो जित निकालेको साबिक उपविजेता हेल्प नेपाल दुई खेलबाट ५ अंक बनाउँदै तालिकाको दोस्रो स्थानमा छ। पुरुषतर्फको खेलमा साबिक विजेता त्रिभुवन आर्मी क्लब ९ अंकसहित शीर्ष स्थानमा छ। यता, गण्डकीले भने दोस्रो हार भोगेको छ। पहिलो खेलमा आइतबार ढोरपाटनलाई ३–१ को सेटमा हराएको थियो। तीन खेल खेलेको गण्डकीले तीन अंक जोडेको छ। अब गण्डकीले पुरुषतर्फको पहिलो खेलमा बुधबार नेपाल पुलिस क्लबको सामना गर्नेछ।

प्रकाशित: २१ वैशाख २०७९ ००:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App