१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

राखेप सदस्यसचिवको सहयोग

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई सोमबार आर्थिक सहयोग प्रदान गरेका छन्।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्यसचिव दीपक श्रेष्ठलाई सदस्यसचिव घिसिङले २ लाख ९ हजार १ सय १४ रुपैयाँबराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे। करिब ४ महिनाबराबरको आफूले पाउने सुविधाबापतको रकम सदस्यसचिव घिसिङले कोषलाई प्रदान गरेका हुन्।

नेपाल सरकारले घिसिङलाई गत मंसिर १३ गते राखेपको सदस्यसचिवमा नियुक्त गरेको थियो। घिसिङको नियुक्तिका साथै राखेपका तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवालले आफ्नो बर्खास्तीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशअनुसार करिब ४ महिना सदस्यसचिव घिसिङ राखेपमा अनुपस्थित थिए। सर्वोच्चले गत चैत २२ गते सिलवालको रिट खारेज गरेपछि सदस्यसचिव घिसिङ पुनः राखेपमा फर्केका थिए । त्यही अनुपस्थित भएको अवधिको सुविधाबापतको रकम सदस्यसचिव घिसिङले कोषलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव घिसिङले भने, ‘काम गर्न नपाएको अवधिको सुविधा लिन त्यत्ति सहज लागेन। खेलाडीकै हितलाई सम्झेर थोरै भए पनि कोष सहयोग होस् भनेर उपलब्ध गराएको हुँ। कोषलाई बलियो बनाउने कार्ययोजना बनाउनेछु। कोषलाई ठूलो बनाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ।’ अध्यक्ष श्रेष्ठले सहयोगले सकारात्मक सन्देश प्रवाह गर्ने बताउँदै यसले अरूलाई पनि कोषमा सहयोग गर्न आकर्षित गर्ने धारणा व्यक्त गरे।

प्रकाशित: १३ वैशाख २०७९ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App