१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कास्कीका ५२ खेलकुद योजनालाई पौने तीन करोड बजेट

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय।

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पोखरा महानगरपालिका र अन्य गाँउपालिकाको खेलकुद पूर्वाधारको लागि २ करोड ७६ लाख रुपैयाँ बजेट छुट्टाएको छ। गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रलायले कास्कीका ५२ वटा खेलकुद योजनालाई बजेट छुट्टाएको हो। खेलकुद मन्त्रालयले सबैभन्दा बढी बजेट पोखरा रंगशालाभित्र मार्शल आर्ट रिङ बनाउन १८ लाख रुपैयाँ छुट्टाइएको छ।  

पोखरा रंगशालाभित्र मार्शल आर्ट रिङ निर्माण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले माग गर्दै आएका थिए। यद्यपी मन्त्रालयले ठोस सम्बोधन भने गर्न सकेको थिएन। मन्त्रालयको जिम्मेवारी सम्हालेपछि युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ(दिपक मनांगे)ले खेलकुद पूर्वाधारको लागि बजेट छुट्टाएका हुन्। रंगशालाभित्रको सेमी कभर्ड हलमा बक्सिङको रिङ भएपनि प्रशिक्षणको लागि पर्याप्त नभएपछि प्रदेश सरकारले मार्शल आर्ट रिङ बनाउने योजनासहिट बजेट छुट्टाइएको हो।  

मार्शलआर्ट रिङपछि कास्कीको माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकस्थित त्रिशक्ति युनाईटेड क्लब खेल मैदान निर्माण गर्न १५ लाख रुपैयाँ छुट्टाइएको छ।  पोखरा महानगरपालिका–२६ स्थित खास्ते न्युरेनी ताल खेल मैदानको लागि १२ लाख रुपैयाँ छुट्टाइएको छ। 

‘विभिन्न माग भई आएको योजना अनुसार खेलकुद पूर्वाधारको लागि बजेट छुट्टाइएको हो,’ मन्त्रीका प्रेस सल्लाहकार सोमनाथ बरालले भने, ‘माग भएका अधिकांश योजनालाई मन्त्रालयले सम्बोधन गरेको छ।’ पोखरा रंगशालाभित्रै लन टेनिसमा प्यारापिट निर्माणको लागि १० लाख, बैकल्पिक फुटबल मैदानको लागि १० लाख छुट्टाइएको गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले बताए।  

मन्त्रालयले मनाङको पाँचवटा वडालाई लक्षित गर्दै खेल मैदान निर्माण अघि बढाएको छ। मनाङको मनाङ ङिस्याङ गाउँपालिकाका पाँचैवटा वडाबासी लाभान्वित हुने गरी अन्नपूर्ण मावि खेल मैदान निर्माण एवं स्तरोन्नति गर्न ३३ लाख रुपैयाँ बजेट छुट्टाइएको छ। पोखरा–२५ हेमजास्थित पेमा छाल मोनस्कि आधारभूत विद्यालयलाई ८ लाख रुपैयाँ छुट्टाइएको छ। पोखरा–१९ लामाचौरको चनौटे खेल मैदानका लागि ७ लाख रुपैयाँ छुट्टाइएको गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ। भकुण्डे खेल मैदानलाई समेत मन्त्रालयले ७ लाख रुपैयाँ छुट्टाएको छ।  

गण्डकी प्रदेश सरकार गठन लगत्तै अन्तर्राष्ट्रिय रंगशाला, अन्तर्राष्ट्रिय प्रादेशिक क्रिकेट रंगशाला, एक स्थानीय एक खेल मैदान लगायतका पूर्वाधार बनाउने योजना सार्वजनिक गरेको थियो। सार्वजनिक गरेपछि तत्कालिन प्रदेशको युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको थियो। 

सामाजिक विकास मन्त्रालय अन्तर्गत रहँदा खेलकुदको पूर्वाधार विकास र प्रतियोगिता समेत आयोजना गर्न असमर्थ रहेको थियो। यद्यपी युवा तथा खेलकुद मन्त्रालय छुट्टाई स्वतन्त्र प्रदेश सदस्य राजीव गुरुङलाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिएपछि खेलकुद क्षेत्रको विकासको अपेक्षा खेलकर्मीले गरेका छन्। मन्त्रालयले १ लाख ५० हजारदेखि ५ लाखसम्मका खेलकुद पूर्वाधारका योजनालाई समेट्दै बजेट छुट्टाइएको जनाएको छ।  

प्रकाशित: ६ चैत्र २०७८ ०९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App