१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

ब्वाइज युनियनको विजयी सुरुआत

मिलन लिम्बुको निर्णायक गोलको सहयोगमा ब्वाइज युनियनले बुधबारबाट सुरु भएको सहिद स्मारक ‘बी’ डिभिजन लिगमा वीरगन्ज युनाइटेडमाथि १–० को जित निकाल्दा श्री भगवती क्लब र सरस्वती युथ क्लबले सुखद सुरुआत गरेका छन्।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा बुधबार सम्पन्न दिनको तेस्रो खेलमा ब्वाइज युनियनले वीरगन्ज युनाइटेडलाई १–० ले स्तब्ध बनाएको हो।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरीमा खेलेका थिए। ब्वाइज युनियनका लागि ६४औं मिनेटमा मिलन लिम्बुले गरेको गोल निर्णायक बनेको थियो। जितसँगै ब्वाइज युनियनले ‘बी’ डिभिजन लिगमा सुखद सुरुआत गर्दा वीरगन्ज युनाइटेडले हारबाट लिग प्रारम्भ गरेको छ।

बुधबारै सम्पन्न दिनको पहिलो खेलमा श्री भगवतीले झम्सीखेल युथ क्लबलाई र सरस्वती युथ क्लबले बाँसबारी क्लबलाई समान ३–१ गोलअन्तरले पराजित गर्दै ‘बी’ डिभिजन लिगमा सुखद सुरुआत गरेका हुन्।

दिनको पहिलो खेलमा भगवती र झम्सीखेल युथ क्लबले पहिलो हाफ १–१ गोलको बराबरी खेलेका थिए। खेलको २४औं मिनेटमा अनिल गुरुङले गोल गर्दै श्री भगवतीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, ३८औं मिनेटमा मनकुमार राईले गोल गर्दै झम्सिखेललाई पहिलो हाफमा १–१ को बराबरीमा ल्याएका थिए।

दोस्रो हाफमा आक्रामक रणनीतिका साथ मैदान उत्रिएको भगवतीले बराबरीको अवस्थालाई तोड्दै ५१औं मिनेटमा रमेश राईको गोलबाट पुनः अग्रता लियो। त्यसपछि दबाब दिएर खेलेको भगवतीले ६३औं मिनेटमा मिलन खड्काले गोल गर्दै खेल ३–१ को अवस्थामा ल्याए। त्यसपछि बाँकी समयमा थप गोल हुन सकेन र ‘बी’ डिभिजन लिगमा सुखद सुरुआत गर्न सफल भयो। जितसँगै श्री भगवतीले लिग तालिकामा स्पष्ट ३ अंक जोड्दा झम्सिखेलले भने हारबाट लिगको सुरुआत गरेको छ।

‘बी’ डिभिजन लिगअन्तर्गत बुधबारकै अर्को खेलमा पनि समान ३–१ को नतिजा निकाल्दा सरस्वती युथ क्लबले सुरुआती एक गोलको अग्रता उल्टाएर बाँसबारीविरुद्ध रोमाञ्चक जित निकाल्यो। बाँसबारीले छैटौं मिनेटमा बिक्की राईको गोलबाट लिएको अग्रतालाई उल्टाउन सफल भएको हो। सुरुआतमा गोल खाए पनि सम्हालिएको खेल देखाएको सरस्वतीले २१औं मिनेटमा बिक्रम बिसुङ्खेको गोलबाट खेल बराबरीको अवस्थामा आएको थियो।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ८७औं मिनेटमा सृजल लामाले गोल गर्दै सरस्वतीलाई २–१ को अग्रता उल्टाएका थिए। त्यसपछि पछि परेको अवस्थामा खेलमा फर्किन संघर्ष गरेको बाँसबारी काउन्टरमा अगाडि बढेको मौकामा सरस्वतीले गोल थप्यो। इन्जुरी समयमा भूपेन्द्र शाहीले गोल गर्दै सरस्वतीलाई ३–१ को जित निश्चित गराए। जितसँगै सरस्वतीले ‘बी’ डिभिजन लिगमा स्पष्ट ३ अंक जोडेको छ भने बाँसबारीले हारबाट लिगको सुरुआत गरेको छ।

लिगमा बिहीबार पनि तीन खेल हुनेछन्। दिनको पहिलो खेलमा चर्च ब्वाइजसँग टुसाल युथ क्लब, दोस्रो खेलमा श्री कुमारी क्लबसँग  नयाँ बस्ती युथ क्लब तथा तेस्रो खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) सँग खुमलटार युथ क्लबले प्रतिस्पर्धा गर्नेछन्। लिगमा १४ क्लबले सिंगल राउन्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। शीर्ष दुई टोेली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन्।

प्रकाशित: १९ फाल्गुन २०७८ ०१:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App