१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

अछामका उत्कृष्ट किसान पुरस्कृत

अछामका उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ। २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा जिल्लाका उत्कृष्ट तीन कृषकलाई सम्मानसहित पुरस्कृत गरिएको हो।

तरकारी खेतीतर्फ रामारोशन गाउँपालिका–४ का किसान भरतबहादुर विष्ट, फलफूल खेतीतर्फ मेल्लेख गाउँपालिका–६ का वीरबहादुर बोहरा र मसला बाली खेतीतर्फ तुर्माखाद गाउँपालिका–१ का नन्दराम बुढालाई सम्मान गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख जसिराम सहानिले जानकारी दिए।

उनका अनुसार प्रतिकृषक २० हजारका दरले पुरस्कृत गरिएको हो। उत्पादित कृषि वस्तुले बजार नपाउँदा किसानमा ऊर्जा हराउँदै गएको कृषकका बुढाले बताए। गत वर्ष करिब ४० क्वीन्टल किवी उत्पादन भएको भन्दै उचित मूल्य र बजार नपाउँदा ठूलो नोक्सान भएको उनले जानकारी दिए।

कृषकले उत्पादन गरेका तरकारी, फलफूललगायत वस्तु बिग्रन नदिन जिल्लाका प्रत्येक स्थानीय तहमा ‘कोल्ड स्टोर’ निर्माण गर्नुपर्ने उनीहरुको माग छ। विगत १२ वर्षदेखि तरकारी खेती गर्दै आएको सुनाउँदै अहिले पुरस्कृत हुँदा उत्साहित भएको कृषक विष्टले बताए।

ठूलो क्षेत्रफलमा २९ वटा प्लास्टिक टनेलमा तरकारी खेती गरिरहेको उनले भन्दै यसरी कृषक सम्मानित हुँदा प्रोत्साहन थपिएको उनको भनाइ छ।

पुरस्कार प्रदान गर्दै जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरले कृषकको समस्या समाधानका लागि पहल गर्न आफू सधैँ तत्पर रहेको बताए।

उनले कृषकको मिहिनेत र परिश्रमले देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन सकिने भन्दै किसानलाई प्रोत्साहन गरेकामा ज्ञान केन्द्रलाई धन्यवाद दिए।

व्यावसायिक कृषि पेसालाई सम्मानित बनाउन र कृषकको मनोभावना उच्च राख्न यस्ता रचनात्मक कार्य स्थानीय तहले पनि गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए।

कृषि पेसालाई जोगाइ राख्न, कृषकलाई आत्मनिरर्भर बनाउन तथा युवालाई कृषि क्षेत्रमा आकर्षित गराउन कृषिसम्बन्धी दिगो नीति तथा योजना बनाउनुपर्नेमा उनले जोड दिए।-रासस

प्रकाशित: १५ असार २०८१ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App