मेसुके ओलामोलुको निर्णायक गोलप्रेरित न्युरोड टिम (एनआरटी) आइतबार मनाङ मस्र्याङदी क्लबलाई १–० ले हराउँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिँदा जावलाखेल युथ क्लबले भने हिमालयन शेर्पालाई पराजित गर्दै रेलिगेसन संकट टारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न दोस्रो खेलमा एनआरटी २६औं मिनेटमा मेसुकेले गरेको गोलबाट स्पष्ट तीन अंक लिँदै दोस्रो स्थानमा उक्लियो।
एनआरटी १२ खेलमा २० अंकसहित दोस्रो स्थानमा छ। जुन समान खेल खेल्दै शीर्ष स्थानमा बसेको लिग विजेता मच्छिन्द्र फुटबल क्लबभन्दा १२ अंक कम हो। तेस्रो स्थानको मनाङको समान खेलमा समान २० अंक छ।
११ खेलमा १९ अंक जोडेको त्रिभुवन आर्मी क्लब चौथो र १२ खेलमा १८ अंक बटुलेको थ्री स्टार क्लब पाँचांै स्थानमा छन्। मनाङले पछिल्लो तीन खेलमा मात्र १ अंक जोडेको छ। दशांै चरणमा थ्री स्टारसँग १–१ को बराबरीमा रोकिएको मनाङ ११आंै चरणमा एपिएफ क्लबसँग ३–१ ले निराश बनेको हो।
यसअघि आइतबार दशरथ र रंगशालामा सम्पन्न पहिलो खेलमा जावलाखेलले हिमालयन शेर्पालाई २–१ ले निराश पार्दै रेलिगेसन संकट टारेको थयो। च्यासल युथ क्लब शनिबार फ्रेन्ड्स क्लबसँग पराजित भएसँगै ‘ए’ डिभिजन लिगको हैसियत गुमाएको थियो। जावलाखेल १२ खेलमा १३ अंकसहित नवौँ स्थानमा उक्लिँदा समान खेलमा समान १३ अंक जोडेको हिमालयन शेर्पा भने १०औं स्थानमा झरेको छ।
१२ खेलमा १० अंक जोड्दै १२औं स्थानमा बसेकोे फ्रेन्ड्स र ११ खेलमा ७ अंक जोडेको ब्रिगेड ब्वाइज क्लब १३औं स्थानमा छन्। यी दुई टोलीमध्ये एक टोलीले यस सिजन ‘ए’ डिभिजन हैसियत गुमाउनेछ। सोमबार सातदोबाटो युथ क्लबसँग पराजित भएमा बिबिसी ‘बी’ डिभिजनमा घटुवा हुनेछ।
१०औं चरणमा आर्मी र ११औं चरणमा फ्रेन्ड्ससँग बराबरीमा रोकिएपछि जावालाखेलमाथि रेलिगेसन दबाब बढेको थियो। हिमालयन शेर्पामाथिको जितसँगै जावलाखेलले रेलिगेसन संकट टारेको हो।
१४औं मिनेटमा रूपबहादुर लामाको कर्नर प्रहारले जाली चुमेपछि जावलाखेल युथ क्लबले अग्रता लिएको थियो। ७१औं मिनेटमा अमृत श्रेष्ठको गोलमा हिमालयन शेर्पा खेलमा फर्किएको थियो। तर खेल सकिन तीन मिनेट बाँकी रहँदा ओन्गुना जुनियरले गोल गर्र्दै जावलाखेलका लागि ३ अंक पक्का गरेको थिए।
जावालखेलका प्रशिक्षक किशोर केसीले पछिल्लो दुई खेलमा अग्रता जोगाउन नसक्दा अंक बाँड्नुपरेकाले टोलीमाथि रेलिगेसन दबाब बढे पनि १२औं चरणमा आएर सो संकट हटाउन सफल भएको बताए। हिमालयन शेर्पाका प्रशिक्षक युगलकिशोर राईले भने गोलकिपरको गल्तीमा दुवै गोल खान परेकाले हार व्यहोर्नुपरेको बताए।
प्रकाशित: ९ फाल्गुन २०७८ ०२:१५ सोमबार