१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

राखेपमा अस्थायी समाधान

करिब दुई महिनाभन्दा बढी समयको गतिरोध अन्त्य गर्दै युवा तथा खेलकुद मन्त्रालयले नेपाली खेलकुद क्षेत्रमा अस्थायी समाधानका रूपमा कार्यकारी प्रमुख तोकेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिवको बर्खास्ती र नियुक्ति प्रक्रियाबारे सर्वोच्च अदालतमा मुद्दा परेपछि दुई महिनादेखि नेपाली खेलकुद संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको थियो। तर, बुधबार युवा तथा खेलकुद मन्त्रालयले राखेपका खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कुलबहादुर थापालाई राखेपका सदस्यसचिवको अनुपस्थितिमा सदस्यसचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने जिम्मेवारी सुम्पिएपछि तत्कालका लागि निकास निक्लिएको हो। 

युवा तथा खेलकुद मन्त्रालयले रमेशकुमार सिलवाललाई बर्खास्त गर्दै खुला छनोट प्रक्रियाबाट टंकलाल घिसिङलाई सदस्यसचिवमा नियुक्त गरेपछि नेपाली खेलकुद अदालतमा फस्न पुग्यो।

यसबीच तीन पटकसम्म पेसी तोकिए पनि मुद्दा किनारा लाग्न सकेन, जसका कारण लामो समयदेखि खेलक्षेत्रमा गतिरोध सिर्जना भयो। नवौं राष्ट्रिय खेलकुदको आयोजना र एसियन गेम्सको तयारी पनि प्रभावित बन्न पुग्यो। यसबीच गत माघ २६ गतेको मन्त्रिपरिषद् बैठकबाट राखेपको कार्यकारी सदस्यसचिवको रूपमा मन्त्रालयका सहसचिवलाई कमलप्रसाद पोखरेललाई जिम्मेवारी तोकियो। 

तथापि, त्यसको भोलिपल्टै उनको सरुवा भएपछि त्यो निर्णय काम लागेन। राखेप सदस्यसचिवको अनुपस्थितिमा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार परिषद्का अध्यक्षले मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिन पाउने ऐनमा उल्लेख भएअनुरूप मन्त्रालयले अस्थायी जिम्मेवारी सुम्पिएको हो।  

ऐनको यही दफालाई टेकेर मन्त्रालयले दोस्रो पटक निमित्त प्रमुख तोकेको छ। ‘मन्त्रिपरिषद्को माघ २४ को निर्णयानुसार राखेप सदस्यसचिवको अनुपस्थितिमा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार परिषद्का अध्यक्षले मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिने निर्णय भएबमोजिम राखेपका सदस्यसचिव अनुपस्थित रहेको अवस्थामा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्न तपाईंलाई दिएको छु,’ राखेप अध्यक्षसमेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

प्रकाशित: ५ फाल्गुन २०७८ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App