१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

म्याराथनका दुई इभेण्टलाई शैक्षिक संस्थाको प्रायोजन

आगामी फागुन ७ गते शनिबार हुने सफल पोखरा म्याराथनलाई दुई शिक्षालयले सहयोग गर्दै अपनत्व झल्काएका छन्। शिक्षालयको सहयोगले पोखरा म्याराथनलाई नयाँ आयाम थपिएको विश्वास आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालले लिएको छ।  

१६ औं संस्करणको म्याराथन अन्तर्गतका दुई इभेण्टलाई पोखरा होटल टुरिज्म एण्ड म्यानेजमेन्ट कलेज तथा पोखरा कुमुदिनी होम्सले प्रथम पुरस्कार सहयोग घोषणा गरेका हुन। म्यानेजमेन्ट कलेजले म्याराथन अन्तर्गतको १० किलोमिटर महिलातथा पुरुष दौडलाई प्रायोजन गरेको छ। महिला तथा पुरुष प्रथम हुने धाविका तथा धावकलाई नगद २०–२० हजार रुपैयाँ प्रदान गरिने छ। उक्त प्रमथ पुरस्कार प्रायोजन भने होटल म्यानेजमेन्ट कलेजले गरेको नेपाल भुतपुर्व खेलाडी मञ्च अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए।  

म्याराथन अन्तर्गतकै अर्को इभेण्ट ५ किलोमिटर छात्र÷छात्रा दौडको प्रथम पुरस्कार प्रायोजन भने कुमुदिनी होम्सले गरेको छ। ‘छात्र तथा छात्रा ५ किलोमिटर दौडको प्रथम पुरस्कार प्रायोजन कुमुदिनी होम्सले गरेको हो,’ अध्यक्ष पराजुलीले भने। १० किलोमिटर विजेता महिला तथा पुरुष विजेताले क्रमश नगद २०, १५ र १० हजार पाउने छन्। छात्रा तथा छात्र ५ किलोमिटर दौड विजेताले १२, १० र ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।  

पोखरा म्याराथन आयोजक संस्थाका नेपाल भुतपूर्व खेलाडी मञ्चका सल्लहाकार तथा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका अध्यक्ष अशोक पालिखेले पोखरा म्याराथनमा दुई शिक्षण संस्था जोडिनु गर्वको विषय रहेको बताए। ‘हिजो हामीले पुरुषतर्फको मात्रै पुरस्कार राशी घोषणा गरेका थियौं,’ उनले भने, ‘छात्रा र महिलाहरुलाई समेत खेलकुदमा आकर्षण बढाउन हामीले यी दुई पुरस्कार राशीलाई समेत प्राथमिकता दिएका हौं।’

दुवै शिक्षण संस्थाले दुवै इभेण्टको प्रथम पुरस्कार प्रायोजन गर्दै ६४ हजार नगद सहयोग गरेको अध्यक्ष पराजुलीको भनाई थियो । उनले  भने, ‘पोखरा म्याराथनमा धेरै संघ संस्था र व्यवसायिक प्रतिष्ठानहरु जोडिन आउनुभएको छ । अव पोखरा म्याराथन मञ्चको मात्रै भएको छैन सबै पोखरेलीहरुले हो भन्ने भाव झल्किएको छ।’ अध्यक्ष पराजुलीले पोखरा म्याराथनका सहयोगी मनहरुलाई आभार व्यक्त गर्दै फागुन ७ गते हुने खुला म्याराथन र महिलातर्फको हाफ म्याराथन सफल बनाउन आग्रह समेत गरे।  

यसैबीच नेपाल भुतपुर्व खेलाडी मञ्चले १६ औं संस्करणको सफल पोखरा म्याराथन विजेता धावकलाई बेलायतको म्याराथनमा सहभागिता जनाउने अवसर सिर्जना गर्ने जनाएको छ। पोखरा म्याराथन सफल बनाउन म्याराथनको आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यूकेले पोखरा म्याराथन विजेता धावकलाई बेलायतमा दौडिने अवसरको लागि संयोजनको भूमिका खेलिरहेको छ। ‘पोखरा म्याराथनको आफ्नै विशेषता  मात्रै नभई यसले अन्तर्राष्ट्रिय रुपमा नै चर्चा पाउँदै गएको छ,’ पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङले भने, ‘हामी पोखरा म्याराथनको विजेता नेपाली धावकलाई युकेमा ल्याउन योजनामा छौं।’ पोखरेली मञ्च युकेले नेपाली नयाँ वर्षबाट ‘नेपाल रन’ समेत आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ। पोखरा म्याराथनलाई सुजल डेरीको उत्पादन सफल दूधले प्रायोजन गर्दै आएको छ।  

प्रकाशित: २४ माघ २०७८ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App