१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

यु १९ एसिया कप: बंगलादेशसँग फराकिलो हार

ब्याटिङ र बलिङमा खराब प्रदर्शन गरेको नेपालले शुक्रबार यु–१९ एसिया कपमा बलियो टोली बंगलादेशसँग १ सय ५४ रनको फराकिलो हार बेहोरेको छ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित सारजहाँ क्रिकेट स्टेडियममा २ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा १ सय ४३ रनमै समेटिएपछि बंगलादेशसँग फराकिलो हार बेहोरेको हो। निकै खराब सुरुआत गरेको नेपालले ३१ ओभरमा ८१ रन जोड्दा ६ विकेट गुमायो।

तर, विवेक यादव र सिनियर टोलीबाट खेलिसकेका गुल्सन झाले सातौं विकेटका लागि ६० रनको अर्धशतकीय साझेदारी गर्दै नेपालको इनिङ उकासे। मेहेरुब हसनले विवेकलाई २६ रनमा आउट गर्दै त्यो साझेदारी तोडे। लगत्तै ४१ ओभरमा गुल्सन ३५ रनमा रनआउट भएपछि नेपालले एकपछि अर्को विकेट गुमाउन पुग्यो।

यसबीच नेपालले ११ बलमा चार विकेट गुमाउँदा निर्धारित ५० ओभरसम्म टिक्न सकेन। विवेकले ३४ बलमा दुई चौका र एक छक्का हिर्काए। गुल्सनले २८ बलमा चार चौका र एक छक्का हिर्काए। नेपालको इनिङमा गुल्सन र विवेकले मात्र छक्का हिर्काए। नेपालको इनिङमा विवेक मगर ३३ रन, अर्जुन साउद १५ रन र कप्तान देव खनाल १२ रनमा आउट भए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

बंगलादेशको बलिङमा तन्जिम हसन, रकिबुल हसन, मेहेरुब र नैमुर रोहमानले समान २/२ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा मात्र चार विकेट गुमाउँदै २ सय ९७ रनको विशाल योगफल खडा गर्‍यो।

सुरुआतमा संयमित बंगलादेशले अन्तिम २० ओभरमा भने आक्रामक ब्याटिङ गर्‍यो। पहिलो ३० ओभरमा बंगलादेशले तीन विकेटको क्षतिमा १ सय १६ रन जोड्यो। अन्तिम २० ओभरमा भने बंगलादेशले १ सय ८१ रन थप्यो। प्रन्तिक नउरोज नबिल र मोहम्मद फहिमले शतकीय साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य सामना पर्‍यो। नउरोजले नटआउट १ सय २७ रनको शतकीय इनिङ खेल्दा ११ चौका र एक छक्का हिर्काए। बंगलादेशले १०.६ ओभरमा पहिलो विकेट गुमायो।

तिलक भण्डारीले ओपनर महफिजुल इस्लामलाई १७ रनमा पवेलियन फर्काए। अर्का ओपनर इफ्तखेर हुसेन २१ रनमा रनआउट भए। १६औं ओभरको समाप्तिमा बंगलादेशले ६७ रन बटुल्दा दुई विकेट गुमायो। तर, नउरोजले तेस्रो विकेटका लागि आइच मोल्लाहसँग ३८ रनको साझेदारी गरे। नेपालका बलर आदिल अन्सारीले मोल्लाहलाई २२ रनमा विवेक मगरबाट क्याच गराए। त्यसपछिका दुई ब्याट्सम्यानले भने आक्रामक खेले। मोहम्मद फहिमले ५४ बलमा ५८ रन र मेहेरोब हसनले १५ बलमा २१ रन बनाए। रिटायर्ट हर्ट हुनुअघि फहिमले समान तीन चौका र छक्का हिर्काए।

गुल्सन झाबाट क्लिन बोल्ड हसनले तीन चौका प्रहार गरे। नेपालले सात बलर प्रयोग गरे पनि प्रभावकारी बन्न सकेन। तिलक, कप्तान देव र बसिर अहमदबाहेक सबै महँगा साबित भए। गुल्सन, तिलक र आदिलले समान १/१ विकेट लिए। कुल आठ टोली सहभागी यु–१९ एसिया कपमा समूह ‘बी’ मा रहेको नेपालले बंगलादेशसहित टेस्ट राष्ट्र श्रीलंका र कुवेतविरुद्ध चुनौती प्रस्तुत गर्नेछ। नेपालले आफ्नो दोस्रो खेल आइतबार श्रीलंकासँग र तेस्रो खेल खेल डिसेम्बर २८ मा कुवेतसँग खेल्नेछ। समूहका उत्कृष्ट दुई टोली सेमिफाइनल पुग्नेछन्।

प्रकाशित: १० पुस २०७८ ०२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App