१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

राखेपका सदस्य पनि बर्खास्त

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का ९ सदस्यलाई शुक्रबार बर्खास्त गरेको छ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा नियुक्त भएका राखेपका ९ जना सदस्य बर्खास्तीमा परेका हुन्।मन्त्रीस्तरीय निर्णयले उनीहरूलाई बर्खास्त गरेको मन्त्रालयको स्रोतले जानकारी दिएको हो। राखेपका बोर्ड सदस्य रेणुका श्रेष्ठ, सूवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुनबहादुर केसी, इन्दिरा निरौला,रिम रानाभाट,गोपाल खनाल र गोविन्द भट्टराई बर्खास्तमा परेका हुन्।

गत कात्तिक १ मा शेरबहादुर देउबा सरकारको मन्त्रिपरिषद् बैठकले राखेप सदस्यसचिव रमेश सिलवाललाई बर्खास्त गरेको थियो। त्यसलगत्तै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले पूर्ववत् सरकारद्वारा नियुक्त भएका बोर्ड सदस्यलाई राजीनामा दिन निर्देशन गरेका थिए। राखेपको बोर्ड बैठक राख्न सदस्यले भूमिका नखेलेको भन्दै उनीहरूले स्पष्टीकरण सोधिएको जनाइएको छ।

मन्त्री गहतराजले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेपको अध्यक्षको हैसियतमा नियुक्त गरिएका सदस्यसँग गत कात्तिक २३ गते स्पष्टीकरण मागेका थिए। तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिँदै मन्त्रालयले जबाफ चित्त नबुझे कारबाही गर्ने तयारी गरेको थियो। ‘तपाईंले राष्ट्रिय खेलकुद परिषद्को सदस्यका रूपमा आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको र परिषद्को हितमा योगदान पुर्‍याउन सकेको नदेखिएकाले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ७ को उपदफा (२) को अवस्था सिर्जना भएकाले ऐनको दफा ७ को उपदफा(३) बमोजिम सदस्य पदबाट किन नहटाउने?’, मन्त्रालयले सोधेको थियो। तर,सदस्यको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनीहरूलाई मन्त्रालयले बर्खास्त गरेको छ। 

यता, बर्खास्तमा परेकी राखेपका बोर्ड सदस्य रेणुका श्रेष्ठले आफूहरूलाई औपचारिक पत्र आएको उल्लेख गर्दै यदि बर्खास्त गरे अदालत जाने बताइन्। ‘हामीलाई औपचारिक पत्र आएको छैन। मैले पनि सञ्चारमाध्यमबाट मात्र सुनेको हुँ। यदि बर्खास्त भएमा हामी अदालत जान्छौं,’ बोर्ड सदस्य रेणुकाले भनिन्,‘ऐनअनुसार बैठक बोलाउने हाम्रो जिम्मेवारी होइन। हामीले पहल गरेकै हौं। जसको जिम्मेवारी हो, उसैले स्पष्टीकरण सोधेको छ।’

प्रकाशित: ४ मंसिर २०७८ ०२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App