४ वैशाख २०८१ मंगलबार
खेल

नयाँ ढाँचामा ‘ए’ डिभिजन लिग

अखिल नेपाल फुटबल (एन्फा) को आयोजनामा मंसिर ३ गतेबाट सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग यस पटक नयाँ ढाँचामा सञ्चालन हुँदै छ।

यस अघि दैनिक रूपमा लिगका खेल हुने गरेकामा यस सिजनबाट भने सप्ताहान्तमा मात्र लिगका खेल सञ्चालनमा ल्याउने ढाँचा अघि सारिएको हो।

एन्फाले दुई साताअघि कात्तिक २९ गतेबाट लिग सुरु हुने भन्दै चौथो चरणसम्मको तालिका सार्वजनिक गरेको थियो तर बिहीबार एक कार्यक्रममा एन्फाले प्राविधिक कारण देखाउँदै लिग करिब चार दिन पछि परेको जानकारी गराएको थियो।साथै एन्फाले सातामा मात्र तीन दिन (शुक्रबार, शनिबार र आइतबार) लिगका खेल हुने जनाएको थियो।

एन्फाले यस पटक लिगमा पूर्ण क्षमतामा दर्शक प्रवेश गराउने भएको छ। जसअन्तर्गत भिआइपीतर्फ टिकटको मूल्य ५ सय रूपैयाँ र साधारणतर्फ टिकटको मूल्य १ सय रूपैयाँ निर्धारण गरिएको छ।  

‘हामीले पहिलो पटक लिगलाई नयाँ ढाँचा साताको तीन दिन मात्र सञ्चालन गर्न गइरहेका छौं,’एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने,‘जसअन्तर्गत शुक्रबार र शनिबार दशरथ रंगशालमा दैनिक दुई खेल हुनेछन्।पहिलो खेल १ बजे सुरु हुनेछ भने दोस्रो खेल ४ः३० मा सुरु हुनेछ,जुन खेल फ्लडलाइडमा हुनेछ। आइतबार हुने खेल भने अन्य रंगशालामा हुनेछन्।’

तुलाधरले यस पटक लिगका खेलहरू दशरथ रंगशाला, एन्फा मुख्यालयको मैदान,च्यासल फुटबल क्लबको मैदान र मनाङ मस्र्याङदी क्लबको घरेलु मैदानको रूपमा रहेको पोखरा रंगशालामा हुने बताए।

‘हामीलाई मनाङले उनीहरूको ५ देखि ६ वटा खेल पोखरा रंगशालामा गर्न प्रस्ताव गरेको छ,’तुलाधरले भने,‘तीन क्लबले मनाङको घरेलु मैदानमा खेल्न सहमति जनाएका छन्। अन्य क्लबसँग पनि छलफल भइरहेको छ। मनाङले प्रदेश सरकारमार्फत उनीहरूको मैदानमा खेल्न जाने टोलीको सम्पूर्ण खर्च बेहोर्नेबारे सकारात्मक छलफल भइरहेको जनाएको छ।

एन्फा स्वयम् पनि लिगलाई राजधानीबाहिर लैजान चाहन्छ र त्यसको सुरुआत यसै सिजनको लिगबाट हुनेछ। तुलाधरले अघि भने,‘मनाङले गरेको प्रस्तावमा सहमति नभए पनि हामी कम्तीमा दुई चरणका खेल भने पोखारामै गर्ने तयारीमा जुटेका छौं। त्यसका लागि हाम्रो प्राविधिक टोली भोलि त्यसतर्फ प्रस्थान गर्दै छ।’

तुलाधरले माघ पहिलो सातासम्ममा ८ देखि ९ चरणसम्मको खेल सिध्याउने तालिका रहेको बताए।

‘अन्तर्राष्ट्रिय विश्रामका लागि माघ पहिलो सातापछि त्यो महिनाभरि लिगका खेल हुने छैनन्,’ उनले भने, ‘त्यसबीच एएफसी कपका खेल हुनेछन्। सो समयमा तालिकाको शीर्ष स्थानमा रहने टोलीले नै यो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने क्लबहरूबीच सहमति भइसकेको छ।’

त्यस्तै लिग कमिटीका निर्देशक सञ्जीव मिश्रले यस पटक लिगमा पुरस्कार दिने कुरामा पनि केही परिवर्तन गरिएको जनाए।

‘हामीले यसअघि शीर्ष ६ टोलीलाई नगद पुरस्कार दिँदै आएका थियांै,’ मिश्रले भने, ‘यस पटक लिगका शीर्ष तीन टोलीले मात्र नगद पुुरस्कार पाउनेछन्। त्यस्तै विधागततर्फ पनि अन्तर्राष्ट्रिय प्रचलनअनुसार नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता, राइजिङ प्लेयरले मात्र पुरस्कार प्राप्त गर्नेछन्।’

मिश्रले तालिका सार्वजनिक गरेकै दिन १३ औं  चरणसम्मकै खेल निर्धारण भए पनि खेलस्थलको टुङ्गो नलागेकाले चौथो चरणसम्मको तालिका मात्र सार्वजनिक गरिएको बताए।

‘माघसम्ममा  नवौं चरणका खेल सकिन्छन् होला,’मिश्रले भने, ‘त्यही विश्रामको समयमा हामीले मोफसलका प्रतियोगिता सञ्चालनका लागि अनुमति दिनेछौं। यस्तोमा राष्ट्रिय टोलीमा भएका खेलाडी यता व्यस्त रहनेछन् भने अन्य खेलाडी मोफसलको प्रतियोगितामा व्यस्त हुनेछन्। फागुनको तेस्रो सातासम्म हाम्रो लिग समापन गर्ने योजना छ।’

मिश्रले सहिद स्मारक ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिग एकै पटक सञ्चालन हुने गरी तयारी थाले पनि एन्फा प्रेसिडेन्ट कपमार्फत लिगमा छनोट भएका टोलीको विभिन्न मागका कारण अहिले त्यो सम्भव नभएको बताए। उनले ‘ए’ डिभिजन लिग सकिएको करिब एक सातापछि नै राष्ट्रिय लिग सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको समेत बताए।

मंसिर ३ मा फ्रेन्ड्स क्लबले नवप्रवेशी सातदोबाटो युथ क्लबविरुद्ध खेल्दै लिगको सुरुआत गर्नेछ।

प्रकाशित: २७ कार्तिक २०७८ ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App