१ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

नेपालको पहिलो विश्वकप क्रिकेटबारे रोहित, ललित र नन्दन के भन्छन् ?

भारत र श्रीलंकामा आयोजना हुने टी –२० पुरुष विश्वकपको यात्रा नेपालले आज  युएई विरुद्ध अभ्यास खेल खेल्दै सुरु गर्दै छ। नेपालको  १५ सदस्यीय टोली यो विश्वकपको लागि तयार रहेको छ। यसमा  नेपालबाट सोमपाल कामी मात्र त्यस्ता, खेलाडी हुन, जसले तेस्रो पटक विश्वकपमा सहभागिता जनाउँदै छन्। नेपाले तेस्रो पटक विश्वकप खेल्दै छ।  

सोमपाल कामीले तेस्रो पटक विश्वकप खेल्दैगर्दा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, करण केसी  र ललित राजवंशीले दोस्रो पटक विश्वकप खेल्ने छन्।  

त्यस्तै, आरिफ शेख, बसिर अहमद, शेर मल्ल,लोकेश बम, र नन्दन यादवले पहिलो पटक टी– २० विश्वकपमा डेब्यू गर्दैछन्। नेपालले पहिलो पटक सन् २०१४ मा विश्वकप खेलेको थियो, नेपालले त्यो पहिलो विश्वकप खेल्दा हाल विश्वकप खेल्न लागेका खेलाडीले त्यो विश्वकप कसरी हेरेका थिए।  

नेपालले रोहित पौडेलको कप्तानीमा दोस्रो पटक टी– २० विश्वकप खेल्न लागेको हो। सन् २०२४ मा नेपाल दोस्रो पटक विश्वकपमा सहभागी हुँदा टोलीको नेतृत्व उनले नै गरेका थिए। क्यानले सार्वजनिक गरेको एक भिडियोमा नेपालले पहिलो पटक विश्वकप खेल्दा उनले घरमै बसेर विश्वकप हेरेको बताएका छन्। ‘नेपालले पहिलो पटक विश्वकप खेल्दा म नवलपरासीमा आफनै घरमा बसेर त्यो, विश्वकप हेरेको थिए, त्यो बेला पारस दाइ, ज्ञानेन्द्र दाइहरूले अहिले हामीले लगाएको जस्तै जर्सी लगाउनु भएको थियो, यो जर्सी देख्दा खुसी महसुस भइरहेको छ, यही जर्सी लगाएर नेपालले पहिलो विश्वकप खेलेको थियो, अहिले आफै राष्ट्रको लागि खेल्दै छु।’

त्यस्तै, ललित राजवंशीले पनि दोस्रो पटक विश्वकपमा सहभागिता जनाउँदै छन्।  उनी पनि त्यो बेलकाको विश्वकप आफनै गाउँघरमा रहेर हेरेको बताउँछन्। उनी भन्छन्– ‘यो जर्सी देख्ने बित्तिकै मलाई २०१४ को विश्वकपको याद आएको थियो, त्यो बेलमा म गल्ली क्रिकेटहरू खेलिरहन्थे। कहिले स्कुल कलेजहरूमा खेल्थे, त्यो बेलकाको विश्वकप मलाई अझै याद छ, म हरेक खेल हेर्थे खेलमा अपडेट हुन्थे। म आफ्नै घरमा बसेर खेल हेर्थे, त्यो बेला नेपालले विश्वकप खेलिरहँदा मैले पनि राम्रो क्रिकेट खेल्न पर्छ भने भावना आउँथ्यो।’

त्यस्तै, नेपालकी क्रिकेट जगतमा पछिल्लो समय चर्चा कमाएका नन्दन यादवले भने पहिलो पटक विश्वकप खेल्दैछन्। ‘म नेपालले पहिलो पटक विश्वकप खेल्दा मामाघरमा थिए,कोचिङको लागि हेटौडामा जान्थे, विश्वकप हेर्न हेटौडामा प्रोजेक्टर लगाएको थियो, मैले पहिलो विश्वकपको खेल त्यही हरेको थिए’ नन्दन भन्छन्।  

साथै, उनले त्यो बेला आफ्नो चाहाना पनि विश्वकप खेल्न रहेको र अहिले त्यो कुरा पूरा हुँदा खुसी र गर्व महसुस भएको व्यक्त गरे।

प्रकाशित: २० माघ २०८२ १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App