१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पोखरा म्याराथनको पुरस्कार राशी शतप्रतिशत वृद्धि

मञ्च र सुजल डेरी बीच सम्झौता नविकरण

नेपाल भूतपूर्व खेलाडी मञ्चले लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरी प्रालिसँग तीनवर्ष सम्झौता नविकरण गर्दै पोखरा म्याराथनको पुरस्कार राशीमा शतप्रतिशत वृद्धि गरेको छ। सुजल डेरीको उत्पादन सफल दूधले तेस्रो पटक सम्झौता नविकरण गर्दै  विस २०८० सालसम्म साथ दिनेछ। प्रालिसँग नयाँ सम्झौता गरेपछि मञ्चले १६ औं सस्ँकरणको पुरस्कार राशीमा शतप्रतिशत वृद्धि गरेको छ।

सम्झौता अनुसार प्रालिले मञ्चलाई वार्षिक ७ लाख रुपैयाँ दिनेछ। प्रालिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठका अनुसार खेल पर्यटन प्रवद्र्धनमा मञ्चमा सहकार्य गरिएको हो। ‘मञ्चसँग २०७२ सालदेखि सहकार्य गर्दै आएका हौं। यो हाम्रो तेस्रोपटक सम्झौता हो,’ उनले भने।

मञ्चले १६ औं सस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथन आगामी फागुन ७ गते आयोजना गर्ने निर्णय गरेको छ। मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बुधबार पत्रकार सम्मेलन गर्दै फागुन ७ गते पोखरा म्याराथन आयोजना गरिने बताए। ‘पोखरा म्याराथनको पुरस्कार राशी बढाएका छौं,’ अध्यक्ष पराजुलीले भने, ‘खेलकुदको इतिहासमै पुरस्कार राशी बढाइएको छ।’ उनका अनुसार प्रथम हुने धावकले ४ लाख रुपैयाँ प्राप्त गर्ने छन्। दोस्रो स्थानमा रहने धावकले २ लाख रुपैयाँ पाउने छन्। गतवर्ष प्रथम हुने धावकलाई २ लाख रुपैयाँ प्रदान गरिएको थियो।

४२.१९५ किलोमिटर म्याराथनमा तेस्रो स्थानमा आउने धावकले १ लाख रुपैयाँ र चौथो हुने धावकले ३० हजार रुपैयाँ प्राप्त गर्ने छन्। मञ्चले आगामी तीन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता गराउने योजना रहेको बताए। एम्समा दर्ता गराउने योजनासँगै पुरस्कार राशी १० लाख रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको छ। लक्ष्यमा पुग्न नेपाल सरकार, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, प्रायोजक संघसंस्थाहरु र सरोकारवालाहरुको सहयोग र सहकार्यको खाँचो रहेको मञ्चले उल्लेख गरेको छ।

महिला हाफ म्याराथन विजेतालाई १ लाख रुपैयाँ, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार राशी दिईने छ। १० किलोमिटर पुरुष दौड विजेतालाई २० हजार, दोस्रोलाई १५ हजार र तृतीय हुनेलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने मञ्चले जनाएको छ। त्यस्तै महिला १० किलोमिटर दौड विजेतालाई नगद २०, उपविजेतालाई १५ र तेस्रो हुनेलाई नगद १० राशी पुरस्कारको व्यवस्था गरिएको छ।

मञ्चले विद्यालयलाई समेत सहभागि गराउने उद्देश्यसहित ५ किलोमिटर छात्र तथा छात्रा दौड प्रतियोगितालाई समेट्दै आएको छ। विजेतालाई १२, १० र ७ हजार नगद प्रदान गरिएको छ। त्यसैगरी ह्वीलचियर महिला तथा पुरुष दौड विजेतालाई १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिने छ। दृष्टिविहीन महिला तथा पुरुष दौडलाई पनि १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिने मञ्चका अध्यक्ष पराजुलीले जानकारी गराए।

सिटी म्याराथनको अवधारणासँगै शुरु गरिएको पोखरा म्याराथनलाई भव्य बनाउन विभिन्न २१ वटा समिति समेत बनाईसकिएको छ। १५ औं सस्करण आर्मीका धावक राजन रोकायाले जितेका थिए। उनले निर्धारित ४२.१९५ किलोमिटरको दूरिलाई २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै दुईलाख नगदराशीको ‘अन्तर्राष्ट्रिय पोखरा म्याराथन’ उपाधि आफनो नाममा लेखाएका थिए।

प्रकाशित: १७ कार्तिक २०७८ ०७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App