१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

रोयको विस्फोटक ब्याटिङ

ट्वान्टी–२० विश्वकपअन्तर्गत बुधबार इङ्ल्यान्ड र बंगलादेशबीच पहिलोपल्ट प्रतिस्पर्धा हुँदा नतिजा इङ्ल्यान्डको पक्षमा गएको छ।  

ओपनिङ ब्याट्सम्यान जेसन रोयको विस्फोटक ब्याटिङको मद्दतमा इङ्ल्यान्डले बंगलादेशमाथि ८ विकेटको फराकिलो जित निकाल्दै जारी ट्वान्टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको हो। यसअघिको पहिलो खेलमा इङ्ल्यान्डले वेस्ट इन्डिजलाई ६ विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो। लगातार जित निकालेको इङ्ल्यान्डको सेमिफाइनल सम्भावना बलियो भएको छ।

बंगलादेशले दिएको १ सय २५ रनको लक्ष्य भेट्टाउने क्रममा ओपनर रोय एक्लैले ६१ रनको पारी खेले। ३८ बलको सामना गरेका रोयले पाँच चौका र तीन छक्का प्रहार गरे। यस्तै अर्का ओपनर जोस बट्लरले १८ रनको व्यत्तिगत स्कोर गर्दै पवेलियन फर्किंदा डेविड मालन २८ तथा जोन बेयस्र्टाे ८ रनमा अविजित रहे। बंगलादेशले ११ रन अतिरिक्त खर्चिन पुगेको थियो। इङ्ल्यान्डको दुई विकेट निकाल्ने क्रममा बंगलादेशका सोरिफुल इस्लाम र नसुमा अहम्मेदले एक/एक विकेट लिए। 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरको समाप्तिमा ९ विकेट गुमाई १ सय २४ रन जोडेको थियो। १४ रन जोड्ने क्रममा पहिलो विकेट गुमाउँदा लिट्टन दास नौ रनमा पवेलियन फर्किएका थिए।

सुरुआत राम्रो हुन नसकेको बंगलादेशका लागि मुसफिकर रहिमले सर्वाधिक २९ रनको योगदान गरे। ३० बलको सामना गरेका रहिमले ३ चौका प्रहार गरेका थिए। बलियो इङ्ल्यान्डविरुद्ध सम्हालिएको प्रदर्शन गर्न प्रयासरत बंगलादेशका लागि कप्तान मोहमदुल्लाह १९ रन जोड्ने क्रममा लिभिङस्टोनको बलमा क्रिस ओक्सको हातबाट समातिए।

यस्तै नासुम अहम्मेद १९ रनमा अविजित रहँदा नुरुल हसनले १६ तथा अफिफ हुसेनले ५ रनको योगदान गरेका थिए। बंगलादेशको ९ विकेट लिने क्रममा इङ्ल्यान्डका ट्यामल मिल्सले सर्वाधिक ३ विकेट हात पार्दा मोइन अली र लियाम लिभिङस्टोनले समान २÷२ विकेट निकाले। यस्तै क्रिस ओक्सको नाममा एक विकेट रह्यो।

सुपर १२ अन्तर्गत समूह १ बाट लगातार २ खेलमा स्पष्ट नतिजा निकालेको इङ्ल्यान्ड शीर्ष स्थानमा छ। इङ्ल्यान्डले अव शनिबार अस्ट्रेलियासँग खेल्नेछ।

समान २ अंक भए पनि नेट रनरेटका आधारमा श्रीलंका दोस्रो, अस्ट्रेलिया तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छन्। समान दुई खेल खेल्दा अंकविहीन बनेका बंगलादेश पाँचौं र वेस्ट इन्डिज पुछारमा छन्। पराजित बंगलादेशले शुक्रबार वेस्ट इन्डिजसँग खेल्नेछ।

प्रकाशित: ११ कार्तिक २०७८ ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App