१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

युरो २०२०ः स्टर्लिङको गोलमा इङ्ल्यान्डलाई सफलता

रहिम स्टर्लिङले क्रोएसियाविरुद्ध गरेको गोल निर्णायक भएपछि वेम्बली रंगशालामा उपस्थित आफ्ना दर्शकलाई खुसी दिलाउँदै इङ्ल्यान्डले आइतबार युरो कप २०२० मा सुखद सुरुआत गरेको छ।  

पहिलो हाफ गोलरहित बराबरी खेलेको इङ्ल्यान्डले पहिलो पटक जितबाट युरो कप सुरुआत गरेको हो। सुरुआतबाट क्रोएसियालाई दबाब दिएर खेलेको समूह ‘डी’ को इङ्लिस टोलीलो दोस्रो हाफमा पनि आक्रामक रणनीतिलाई पहिलो हाफमा जस्तै निरन्तरता दियो। घरेलु दर्शकको साथ पाएको इङ्ल्यान्डका लागि स्टर्लिङले ५७औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। काल्भिन फिलिप्सले उपलब्ध गराएको पासलाई वान टच दिँदै स्टर्लिङ जाली चुमाउन सफल भएका थिए।  

त्यसपछि पनि आक्रामक रणनीतिलाई निरन्तरता दिएको इङ्ल्यान्डले थप गोल गर्न भने सकेन। ५७औं मिनेटको गोल निर्णायक भएपछि इङ्ल्यान्डले पहिलो खेलबाट स्पष्ट तीन अंक जोड्न सफल भयो। समूहचरणका सबै खेल वेम्बली रंगशाला हुने भएकाले यस पटक इङ्लिस टोलीलाई फाइदा हुनेछ। १९६६ मा मात्र विश्वकप फुटबलको उपाधि जितेको इङ्ल्यान्डले १९६८ र १९९६ मा युरोपियन च्याम्पियनसिपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको छ।  

इङ्ल्यान्डले क्रोएसियाको आतिथ्यता गर्दा मिडफिल्डर जुडे बेलिङ्हम युरोपियन च्याम्पियसिपमा सबैभन्दा कम उमेरमा खेल्ने खेलाडी बनेका छन्। १७ वर्ष ३ सय ४९ दिनका बेलिङ्हम ८२औं मिनेटमा कप्तान ह्यारी केनलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए। बेलिङ्हमले अन्तिम ८ मिनेट इङ्ल्यान्डको टोलीको प्रतिनिधित्व गर्ने मौका पाएका हुन्।

यसअघि युरो २०१२ मा नेदरल्यान्ड्सका १८ वर्षीय जेट्रो विलियम्सले युरोपियन च्याम्पियनसिप खेलेका थिए। जित हात पारेको इङ्ल्यान्डले आफ्नो दोस्रो खेल आगामी शुक्रबार स्कटल्यान्डसँग खेल्नेछ भने पराजित क्रोएसियाले सोही दिन चेक रिपब्लिकसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: ३१ जेष्ठ २०७८ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App