२० पुस २०८२ आइतबार
image/svg+xml
खेल

१८ महिनापछि सागको पैसा निकासा

पोखरामा आयोजना गरिएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको रकम राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १८ महिनापछि निकासा गरेको छ। वि.सं. २०७६ मंसिर १५ देखि २४ गतेसम्म पोखरामा विभिन्न ८ खेल आयोजना गरिएको थियो। महिला क्रिकेट, महिला फुटबल, ब्याडमिन्टन, भारोत्तोलन, ह्यान्डबल, बिच भलिबल, ट्रायथोलनलगायतका खेल आयोजना गरिएको थियो। 

परिषद्ले पोखराको विभिन्न ६ वटा शीर्षकमा गरी ८२ लाख रूपैयाँ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराको खातामा पठाएको छ। परिषद्ले पत्राचार गर्दै वैशाख १० गते अर्थ मन्त्रालय सृजित दायित्व भुक्तानी माग गरेबमोजिम ८२ लाख रूपैयाँ निकासा गरिएको उल्लेख छ। ‘सागमा भुक्तानी दिनुपर्ने विभिन्न शीर्षकका रकम परिषद्ले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको खातामा पठाइसकेको छ,’ राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य सम्पन्न श्रेष्ठले भने, ‘रकम निकासापछि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले आवश्यकताअनुसार सम्बन्धित संघ एवं सरोकार निकायलाई निकासा गरिदिनेछ।’  

परिषद्ले महिला क्रिकेट भेन्यु निर्माणका लागि खर्च गरेको ४५ लाख रूपैयाँ, पोखरा ह्यान्डबल एकेडेमी निर्माणका लागि ३ लाख, बिच भलिबल भेन्यु निर्माणका लागि खर्च भएको ७ लाख बजेट निकासा गरिएको उनले जानकारी दिए। उनका अनुसार भलिबल प्यारापिट निर्माणका लागि १४ लाख, वैकल्पिक फुटबल खेलमैदान निर्माणका लागि ५ लाख, पोखरा रंगशाला परिसर मर्मत गर्न ८ लाख रूपैयाँ गरी ८२ लाख रूपैयाँ एकमुष्ठ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको खातामा सीधै जम्मा हुने गरी पठाइएको छ।  

दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पोखरा रंगशालास्थित क्रिकेट मैदानमा महिला क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो। फेवाताल किनारको बाराही खेल मैदानमा बिच भलिबल कोर्ट निर्माण गरिएको थियो। रंगशालाभित्रै वैकल्पिक फुटबल मैदान निर्माण गरिएको थियो। वैकल्पिक फुटबल मैदान भने दुई पटक उपभोक्ता समिति गठन गरेर निर्माण गरिएको थियो। रंगशाला परिसरमा भएका केही पूर्वाधारलाई मर्मत गर्न रकम आएको थियो। ‘रकम आएको छ। त्यसले तिरनतारन गरिनेछ,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने, ‘सबैको हिसाब किताब हेरेर भुक्तानी गर्नेछौं।’

प्रकाशित: २३ जेष्ठ २०७८ ०५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App