coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आर्चरीमा वाइल्ड कार्डको आस

दुई महिनापछि टोकियो ओलम्पिक हुँदै छ। ओलम्पिकमा जानुअघि नेपाली आर्चरी टोलीले फ्रान्समा क्वालिफाइङ प्रतिस्पर्धा गर्नुपर्नेछ। फ्रान्सको पेरिसमा आगामी जुन दोस्रो साता आर्चरीको अन्तिम क्वालिफाइङ हुँदै छ। क्वालिफाइङ प्रतिस्पर्धामा शीर्ष तीन खेलाडी ओलम्पिकका लागि छनोट हुनेछन्। अन्यले ६४० अंक कटाए वाइल्ड कार्डको कोटा प्राप्त हुन्छ। अन्यथा आर्चरीको ओलम्पिक सहभागिता कमजोर हुनेछ।  

टोकियो ग्रीष्मकालीन ओलम्पिकका लागि दुई आर्चरी खेलाडी तीन महिनायता नियमित प्रशिक्षणमा छन्। कोरोनाको दोस्रो लहरअगावैदेखि पुरुषतर्फ तिलक पुन मगर र महिलातर्फ ज्ञानु अवाले नियमित प्रशिक्षण गरिरहेका छन्। दुवै आर्चरीका राष्ट्रिय च्याम्पियन हुन्। दुवै बंगलादेशमा आयोजित आर्चरी च्याम्पियनसिपका पदकविजेता खेलाडी हुन्।  

काठमाडौंमा आर्चरीको व्यवस्थित प्रशिक्षणस्थल नभएपछि कोरोनाको दोस्रो लहरअगावै पोखरामा प्रशिक्षण सुरु गरेका हुन्। विगतमा नेपाली आर्चरी खेलाडीले ओलम्पिकमा वाइल्ड कार्डको भरमा सहभागिता जनाएका थिए। अहिले भने वाइल्ड कार्डमार्फत सहभागी हुने सम्भावना निकै कम रहेको स्वयं प्रशिक्षणरत खेलाडी स्विकार्छन्। ‘यो वर्ष वाइल्ड कार्डको कोटा कम छ। वाइल्ड कार्डमार्फत ओलम्पिक सहभागिताको अवसर कम छ,’ तिलक पुन मगर बताउँछन्।  

आगामी जुन ९ तारिखमा फ्रान्समा हुने क्वालिफाइङका लागि जाने तयारी छ। तर नेपाल ओलम्पिक कमिटी एवं नेपाल आर्चरी संघले पहलकदमी गर्नुपर्ने अवस्था छ। यद्यपि कोरोना कहरले पेरिसमा हुने क्वालिफाइङ प्रतिस्पर्धामा जाने विषयमा खेलाडी अझै अन्योलमा छन्। ‘पेरिसमा क्वालिफाइङ प्रतिस्पर्धा गर्नुपर्नेछ। त्यसपछि मात्रै छनोट भए ओलम्पिक खेल्ने अवसर पाइनेछ,’ उनको भनाइ थियो।  

नेपालले महिला र पुरुष व्यक्तिगत इभेन्टमा प्रतिस्पर्धा गर्ने कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए। ‘दुवैले ७० मिटरको रिकर्भ ओपनमा प्रतिस्पर्धा गर्नेछन्,’ उनले भने, ‘सम्भावना राम्रो छ। ६४० स्कोर प्लस हिर्काइरहेका छन् ।’ यद्यपि पेरिसमा आयोजना हुने छनोट चरण पार गर्नुपर्नेछ। रियो ओलम्पिकमा जित मोक्तानले ६४४ स्कोर गरेपछि वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा सहभागिता जनाएको सम्झँदै प्रशिक्षकसमेत रहेका शेरचनले टोकियो ओलम्पिकमा पनि वाइल्ड कार्डमार्फत सहभागिता जनाउन पाउने सम्भावना प्रबल रहेको जिकिर गरे।  

कोरोना कहरकै कारण पेरिसमा हुने छनोट प्रतिस्पर्धा आयोजना हुने नहुने विषयमा अझै अन्योल रहेकाले खेलाडीको सहभागिता पनि अन्योलै छ। तिलक र ज्ञानुलाई प्रशिक्षक माया स्याङ्तेनले नियमित प्रशिक्षण दिँदै आएको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष शेचरनले जानकारी दिए। प्रशिक्षक स्याङ्तेनलाई नेपाल आर्चरी संघले प्रशिक्षकको जिम्मेवारी दिएको थियो। 

प्रकाशित: १३ जेष्ठ २०७८ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App