३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

बेन्जेमाको पुनरागमन

रियाल मड्रिडका फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमाले ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।फ्रान्सले यसै वर्ष आयोजना हुने युरो कपका लागि २६ सदस्यीय टोलीको घोषणा गर्दा बेन्जेमाले राष्ट्रिय टोलीबाट पुनरागमन गर्न लागेका हुन्।

बेन्जेमाले फ्रान्सका लागि ८१ खेलमा २७ गोल गरेका छन्। उनले पछिल्लो पटक आर्मेनियाविरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए। फ्रान्स ४–० ले विजयी भएको खेलमा बेन्जेमाले २ गोल गरेका थिए।

जारी सिजन स्पेनिस ला लिगमा रियाल मड्रिडलाई उपाधिनजिक पुर्‍याउने क्रममा बेन्जेमाले सबैखाले प्रतियोगिता गरी २९ गोल गरिसकेका छन् भने ८ गोलका लागि पास उपलब्ध गराएका छन्। उनले पछिल्लो १० खेलमा मात्र ११ गोल गरिसकेका छन्। लिगमा मात्र १ खेल बाँकी रहँदा रियाल एट्लेटिको मड्रिडलाई पछि पार्दै कीर्तिमानी ३५औं पटक स्पेनिस ला लिगाको उपाधि जित्ने लक्ष्यमा छ।  

गत वर्ष नै युरो कप आयोजना हुनुपर्ने भए पनि कोभिड १९ का कारण प्रतियोगिता १ वर्ष पछि धकेलिएको थियो। प्रतियोगिता जुन ११ बाट सुरु हुनेछ। बेन्जेमासँगै पिएसजीका किलियन एम्बाप्पे र बार्सिलोनाका एन्टोनी ग्रिजम्यानले प्रशिक्षक डिडियर डेसच्याम्प्सको टोलीको अग्रपंक्ति सम्हाल्नेछन्।

घरेलु मैदानमा सम्पन्न सन् २०१६ को युरो कपमा फ्रान्स फाइनल प्रवेश गरे पनि पोर्चुगलसँग स्तब्ध भएको थियो। यद्यपि डेसच्याम्प्सको टोलीले २०१८ को रूस विश्वकप भने जित्न सफल भएको थियो। फ्रान्सले जुन १५ मा जर्मनीविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। बेन्जेमा सन् २०१५ यता फ्रान्सको टोलीमा स्थान बनाउन असफल हुँदै आएका छन्। ब्ल्याकमेलको आरोप लागेसँगै उनी राष्ट्रिय टोलीबाट बाहिर रहँदै आएका थिए।

यसै आरोपका कारण बेन्जेमा सन् २०१६ को युरो कप र सन् २०१८ को रूस विश्वकपमा समेत टोलीमा स्थान बनाउन असफल भएका थिए। बेन्जेमा सन् २०१५ मा फ्रान्सकै मिडफिल्डर म्याथ्यु भाल्वेयनालाई यौनकाण्ड सार्वजनिक गरिदिने धम्की दिएको आरोपमा मुछिएका थिए। तर बेन्जेमाले भने प्रहरीले नियोजित रूपमा आफूलाई घटनामा मुछेको बताउँदै आएका छन्। ‘यो अहिले र भविष्यकै लागि अति महत्वपूर्ण छ,’ बेन्जेमा राष्ट्रिय टोलीमा फर्किएसँगै डेसच्याम्प्सले भने, ‘यो निकै राम्रो कदम हो। हामीले लामो छलफल गरेका छाैं। मलाई टोलीमा उनी चाहिएको थियो र उनी टोलीमा फर्किएका छन्।’ 

प्रकाशित: ६ जेष्ठ २०७८ ०४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App