७ वैशाख २०८१ शुक्रबार
खेल

एएफसी कप: आर्मीको सानदार पुनरागमन

एक गोलले पछि परेको स्थितिमा सानदार पुनरागमनसहित त्रिभुवन आर्मी फुटबल क्लब बुधबार श्रीलंका पुलिस स्पोर्टिङ क्लबमाथि ५–१ को जित निकाल्दै एएफसी कप २०२१ प्रारम्भिक समूहको दोस्रो चरणमा पुगेको छ। घानाका तीन खेलाडीसहित उत्रेको श्रीलंका पुलिसमाथि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्जनौं अवसर सिर्जना गरेको आर्मीले पाँच गोल फर्काउँदै भारतीय टोली बेंगलुरु फुटबल क्लबसँगको भेट पक्का गरेको हो। नवयुग श्रेष्ठको आक्रमणबाट खेलको पहिलो मिनेटदेखि नै दबाब दिएको आर्मीले लगातार गोल अवसर सिर्जना गरेको थियो। यद्यपि, २८औं मिनेटमा घानाका इभान्स असान्तेको गोलबाट श्रीलंका पुलिसले अग्रता लिँदै आर्मीमाथि दबाब सिर्जना गर्‍यो।

त्यसअघि आर्मीले कयौं अवसर चुकाइरहँदा श्रीलंका भने दोस्रो अवसरमै गोल गर्न सफल भयो। काउन्टर अट्याकमा इसाक एडेभुको लामो पास सदुपयोग गर्दै इभान्सले गरेको सशक्त प्रहार आर्मीका किपर विश्वास चौधरीले पत्तै पाएनन्। त्यसअघि खेलको चौथो मिनेटमा सन्तोष तामाङको सशक्त प्रहार श्रीलंका पुलिसका दिनेश महेन्द्रनले पन्च गर्दै बाहिर पठाएका थिए। ११औं मिनेटमा आर्मीका कप्तान भरत खवासले कर्नरबाट गरेको प्रहारलाई श्रीलंकाका डिफेन्सले गोललाइनबाटै बचाए।

त्यसलगत्तै भरतकै अर्को प्रहार श्रीलंका पुलिसका दिनेशले पन्च गर्दै बचाए। त्यसपछि अनमार्क रहेका नवयुगले २४औं मिनेटमा डी एरियाबाट गोल गर्ने अवसर गुमाउँदा ३३औं र ३५औं मिनेटमा भरतको प्रहारले पोस्टको दिशा लिन सकेन। यद्यपि, पहिलो हाफ सकिन पाँच मिनेट बाँकी छँदा खेलले रोमाञ्चक मोड लियो र आर्मीले लगातार दुई गोल ग¥यो। ४१औं मिनेटमा सन्तोष तामाङको उत्कृष्ट भली प्रहारले जाली चुमेपछि आर्मी १–१ को बराबरीमा फर्कियो।  

दुई मिनेट बाँकी छँदा भरतको क्रसमा डी एरियामा अनमार्क नवयुगले हेड गोल गर्दै आर्मीलाई अग्रता दिलाए। दोस्रो हाफमा पनि आर्मीले लगातार आक्रमण बुनिरह्यो। ५०औं मिनेटमा टंक बस्नेतले नजिकैबाट गोल गर्दै आर्मीलाई ३–१ को अग्रता दिलाए। ७६औं मिनेटमा इभान्सको सशक्त प्रहार क्रस बारमा लागेर फर्किएपछि आर्मीको डिफेन्समाथि चुनौती थपिएको थियो। यद्यपि, आर्मीको डिफेन्स श्रीलंकन टोलीको आक्रमणमा बाधक बनिरह्यो। ८३औं मिनेटमा सब्सिच्युट खेलाडी सुदिल राईले गोल गर्दै आर्मीलाई ४–१ को अग्रता दिलाए।  

इन्जुरीको दोस्रो मिनेटमा सुदिलको प्रहार क्रस बारमा लागेर फर्कियो। लगत्तै नवयुगले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ५–१ को सानदार जित निकाल्यो। यससँगै पहिलो रोजाइका गोलकिपर विकेश कुथु र स्ट्राइकर जर्जप्रिन्स कार्कीबिना पनि आर्मीले सफलता प्राप्त गर्‍यो। जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले लामो समयदेखिको तयारीका कारण विपक्षीलाई दबाब राखेर खेलेको बताए।

‘सुरुआतमा गोल खाए पनि खेलाडीले धैर्यता राखे र छिट्टै गोल फर्काए। रणनीतिअनुसार टिमले खेल्यो र जित पनि प्राप्त ग¥यौं,’ न्यौपानेले भने, ‘यद्यपि, हामीले धेरै अवसर पनि गुमायौं। बलियो भारतीय टोलीविरुद्ध फिनिसिङमा सुधार गर्ने योजनामा छौं।’ श्रीलंका पुलिसका प्रशिक्षक रोहन एल्पोन्सोले अनुभवविहीन खेलाडीका कारण फराकिलो हार बेहोरे पनि प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए। एएफसी कपको प्रारम्भिक समूहमा आर्मीले तीन खेल जित्नुपर्ने हुन्छ।

अब आर्मीले १४ अप्रिलमा गोवास्थित जिएमसी रंगशालामा बेंगलुरुको सामना गर्नेछ। त्यसका लागि आर्मी आगामी बुधबार त्यसतर्फ प्रस्थान गर्नेछ। दोस्रो चरण पार गर्ने टोलीले २१ अप्रिलमा प्लेअफको फाइनल खेल्नेछ। प्लेअफको विजेताले समूह चरणअन्तर्गत समूह ‘डी’ मा प्रवेश पाउनेछ। समूह ‘डी’ मा भारतको मोहन बगान, बंगलादेशको बसुन्धारा किंग्स र माल्दिभ्सको माजिया एन्ड रिक्रिएसन छन्।

प्रकाशित: २६ चैत्र २०७७ ०४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App