बिहीबार बिहान कोहलपुर–११ रङ्गशाला अगाडिको बस्तीमा पानी परिरहेको थियो। झरीसँगै सुकुम्बासी बस्तीमा अर्को पीडा पनि पोखिइरहेको थियो। कसैले टिन उखेले, कसैले बाँस भाँचे। त्यहाँ घर मात्र भत्किएका थिएनन्, धेरैको सपना र सङ्घर्ष पनि भत्किएको थियो।
करिब २५ वर्षअघि दैलेखबाट कोहलपुर आइपुगेकी गगनसरा शाहीका लागि त्यो दिन सबैभन्दा कठिन बन्यो। खाली जमिन देखेर उनले यहीँ टहरा बनाएर बसेकी थिइन्।
बजार नजिक भएकाले छोराछोरी हुर्काउन सजिलो होला भन्ने उनको आशा थियो। बिस्तारै सङ्घर्ष गर्दै जीवन अघि बढ्यो। झरिमा चुहिने घरलाई जस्तापाता लगाउन सकेकी थिइनन्। दुईपटक रोजगारीका लागि विदेश पुगिन्। श्रीमान् बिरामी हुँदा लागेको ऋण तिरिन्। बाँकी पैसाले एकतले जस्तापाताको घर बनाइन्।
त्यही घर बिहीबार उनले आफ्नै हातले खाली गरिन्। घरको कुनाकाप्चामा राखिएका सामान मिलाउँदै गर्दा उनको स्वर बारम्बार भरिएको थियो।
‘यो घर बनाउन कति दुःख गरियो, दुईपटक विदेश जानुपर्यो,’ उनले भनिन्, ‘अब फेरि कहाँ जाने ? कसरी बस्ने ?’ उनको मनमा यति धेरै पीडा थियो कि उनले आफूलाई सम्हाल्न सकिरहेकी थिइनन्। ‘एक मनले त वि*ष खा*ऊँ जस्तो लाग्छ,’ उनले भनिन्, ‘तर, लाजगाज जिउनै पर्यो।’
अहिले उनले अस्थायी रूपमा छोरीको घरमा सामान राखेकी छन्। तर, त्यहाँ पनि कहिलेसम्म बस्ने भन्ने टुंगो छैन।
गगनसराजस्तै मुगुकी मायादेवी मल्लको कथा पनि उस्तै पीडादायी छ। दैनिक ज्यालादारी गरेर जीवन धान्दै आएकी उनले एक वर्षअघि मात्रै एउटा कच्ची घर किनेकी थिइन्। त्यो घर उनका लागि ठूलो उपलब्धि थियो। भाडामा बस्ने दुःख सकिएको अनुभूति भएको थियो।
तर, एक वर्ष नपुग्दै त्यो घर छोड्नुपर्यो। ‘दिनभरि मजदुरी गरेर साँझ यही घरमा आएर ढुक्क हुन्थ्यो,’ उनले भनिन्, ‘अब फेरि कहाँ जाने थाहा छैन।’
कोहलपुर नगरपालिकाले नगर विकास समितिको जग्गा खाली गर्न सूचना जारी गरेपछि रङ्गशाला अगाडिको बस्ती खाली भएको छ।
नगरपालिकाका अनुसार क्रिकेट मैदान क्षेत्रको २८ बिगाहा जग्गा अतिक्रमणमा परेको थियो। यहाँ भूमिहीन दलित १ सय ७२, भूमिहीन सुकुम्बासी १ सय ६३ र अव्यवस्थित बसोबासी ४ सय १६ गरी ७ सय ५१ घरधुरी बसोबास गर्दै आएका थिए।
सूचना जारी भएपछि पनि सुरुमा बस्तीवासीले ठाउँ नछोड्ने अडान लिएका थिए। उनीहरूले आन्दोलनसमेत गरे।
‘हामीलाई बस्ने वैकल्पिक ठाउँ नदिई उठाउन पाइँदैन’ भन्दै विरोध प्रदर्शन गरेका थिए। तर बुधबार साँझ जिल्ला प्रशासन कार्यालय र नगरपालिकाको टोली बस्तीमै पुग्यो। बस्ती खाली नगरे डोजर चलाउने चेतावनी दिइयो। त्यसपछि धेरै परिवार बिहानै उज्योली किरणसँगै सामान सार्न बाध्य भए।
सुकुम्बासी बेली विश्वकर्मा बिहानैदेखि झरीमा भिज्दै सामान बोकेर हिँडिरहेकी थिइन्। घरको जस्तापाता खोल्दै गर्दा उनी पटकपटक रोइरहेकी थिइन्।
‘गरिबको पीडा कसैले बुझ्दैन,’ उनले भनिन्, ‘हामीले राज्यसँग महल मागेका होइनौं, ओत लाग्ने ठाउँ मात्रै खोजेका हौं।’
अर्को ठाउँ बस्ने व्यवस्था नगरी उठिबास लगाएको उनीले चिन्ता व्यक्त गरिन्। उनले वर्षौंदेखि त्यहीँ बसेर मजदुरी गर्दै परिवार चलाएकी थिइन्। बालबालिका विद्यालय जान थालेका थिए।
छिमेकीसँग आत्मीयता बनेको थियो। तर, अहिले सबै टुक्रिएको महसुस भइरहेको उनले सुनाइन्। ‘बस्ती उजाडिँदा मन पनि उजाडिएजस्तो भयो,’ उनले भनिन्।
भिमु थापा मगरले पनि वर्षौंदेखिको बसोबास एकैदिनमा छोड्नुपर्दा ठूलो अन्याय भएको महसुस गरेको बताए। ‘हामीलाई हटाउनुअघि कहाँ बस्ने भनेर सोचिदिनुपथ्र्यो,’ उनले भने, ‘गरिब मान्छेलाई बारम्बार उठाएर मात्रै समस्या समाधान हुँदैन।’
उनका अनुसार धेरै परिवार अहिले आफन्तको घरमा आश्रित भएका छन् भने कतिपयले कोठा भाडामा लिएका छन्। तर, दैनिक मजदुरी गरेर खानेहरूका लागि भाडा तिर्नु पनि सजिलो छैन।
बिहीबार बिहान बस्तीको दृश्य अत्यन्त मार्मिक थियो। कतै बच्चाहरू भिजेको कपडामाथि बसेका थिए, कतै वृद्धवृद्धा चुपचाप बस्ती खाली भएको हेरिरहेका थिए।
वर्षाले हिलो बनाएको बाटोमा महिलाहरूले टोकरी, भाँडाकुँडा र लत्ताकपडा बोकेर सुरक्षित ठाउँ खोजिरहेका थिए। डोजरले भत्काइदिने त्रासभन्दा आफ्नै हातले घर खाली गर्दा कम पीडादायी लागेको थियो। त्यसैले धेरैले आफैँ टहरा खाली गराए। तर, घर भत्किएपछि उनीहरूको मनमा एउटा प्रश्न भने अझै उभिएको छ, ‘अब कहाँ जाने ?’
प्रकाशित: २४ वैशाख २०८३ १५:५१ बिहीबार


-600x400.jpg)


