coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

विशाल धनगढीका मार्की खेलाडी

नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज टोली धनगढी फुटबल क्लबले नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडीको रूपमा सार्वजनिक गरेको छ।  

सोमबार गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढीले विशाललाई आफ्नो टोलीमा मार्की खेलाडीको रूपमा अनुबन्धित गरेको हो। एक वर्षका लागि गरिएको सम्झौतापत्रमा विशाल राई र धनगढीका मालिक सुवास शाहीले हस्ताक्षर गरेका हुन्।  

‘मैले धनगढीको योजनाप्रति विश्वस्त भएर क्लबसँग जोडिएको हुँ,’ विशालले भने,‘अन्य टोलीसँग पनि छलफल भइरहेको थियो तर धनगढीको टिम तयारीबारे आशावादी भएर यहाँ जोडिने निर्णय गरें।’ २७ वर्षे विशालले सन् २०१५ अगस्ट ३१ मा नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका थिए। सन् २०१६ मा बंगबन्धु कप,२०१६ मै भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) र एएफसी सोलिडारिटी कपको उपाधि जित्दा उनी राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य थिए। विशाल घरेलु फुटबलका समेत उत्कृष्ट मिडफिल्डर रहँदै आएका छन्। विशालले २०७० र २०७५ मा मनाङ मस्र्याङ्दी तथा २०७६ मा मच्छिन्द्र फुटबल क्लबबाट गरी तीन पटक सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितिसकेका छन्।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले आइतबार एक कार्यक्रमबीच प्रतियोगिता सहभागी ७ फ्रेन्चाइज टोली र मालिकको घोषणा गरेको थियो। प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, चितवन एफसी, बुटवल–लुम्बिनी एफसी, धनगढी एफसी र पोखरा थन्डर्स गरी ७ सहरको प्रतिनिधित्व गर्ने ७ फ्रेन्चाइज टोली रहेका छन्।  

‘सुपर लिग टिमले एक मार्की खेलाडी राख्न पाउने प्रावधानअनुसार हामीले राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई टोलीमा अनुबन्धित गरेका हौं,’ धनगढीमा मालिक सुवासले भने, ‘टिमका लागि अरू खेलाडी र प्रशिक्षक पनि अनुबन्धनको प्रक्रिया अघि बढाइसकेका छाैं। विशालको अगुवाईमा धनगढी एफसीले एनएसएलमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई उपाधिको दाबेदारका रूपमा प्रस्तुत गर्नेमा हामी विश्वस्त छाैं। सुवासले टोलीमा विदेशी खेलाडी अनुबन्धनको प्रक्रिया समेत सुरु भैसकेको बताए। प्रतियोगिताका लागि शुक्रबार खेलाडीको अक्सन हुनेछ। 

प्रतियोगितामा प्राविधिक सहयोगीका रूपमा रहको अखिल नेपाल फुटबल संघ (एन्फा)ले उपलब्ध गराएको खेलाडीको सूचीका आधारमा क्लबले अक्सनमार्फत खेलाडी छनोट गर्नेछन्। सहभागी टोलीले कम्तीमा ३ विदेशी खेलाडी भित्र्याउन पाउनेछन्, जसमध्ये २ खेलाडीले प्लेइङ ११ मा खेल्न पाउनेछन्।

प्रकाशित: ३ चैत्र २०७७ ०६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App