८ वैशाख २०८१ शनिबार
खेल

नेपाली भलिबल: गण्डकी र पुलिसलाई उपाधि

नेपाली भलिबलमा विभागीय वर्चस्वलाई तोड्दै गण्डकी प्रदेशले शनिबार प्रथम टाइगर कप क्लब च्याम्पियनसिप भलिबलमा पुरुषतर्फको उपाधि जितेको छ। पोखरा रंगशालामा भएको फाइनलमा गण्डकीले त्रिभुवन आर्मी क्लबको चुनौतीलाई ३–२ को सेटमा पन्छाउँदै उपाधि चुमेको हो।

गण्डकीले आर्मीमाथि जित निकाल्न निकै प्रतिस्पर्धा गर्नुपर्‍यो। पहिलो सेट २५–२२ ले आफ्नो बनाएको गण्डकीले दोस्रो सेट २५–२१ ले आर्मीलाई सुम्पिएको थियो। निकै रोमाञ्चक बनेको तेस्रो सेटमा गण्डकीले ३२–३० को जित निकालेको थियो। तर, आर्मीले चौथो सेटमा २५–२३ को जित निकाल्दै खेल निर्णायक सेटतर्फ धकेल्यो।

निर्णायक सेटमा भने गण्डकीले आर्मीलाई १५–११ ले स्तब्ध बनाउँदै घरेलु कोर्टमा उपाधि उचाल्यो। लिग चरणमा पनि आर्मी गण्डकीसँग ३–१ को सेटमा राजित भएको थियो। टाइगर ग्रुपको आयोजनामा सञ्चालित क्लब च्याम्पियनसिप भलिबलको महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन हुँदा एपिएफ सोझो सेटमै स्तब्ध बन्यो।

गत वर्ष नेपालगन्जमा सम्पन्न प्रधानमन्त्री कपपछि पहिलो पटक एपिएफ पुलिससँग पराजित हुन पुग्यो। पुलिसले एपिएफलाई पहिलो सेटमा २५–२२, दोस्रोमा २५–२२ र तेस्रो सेटमा २५–२१ ले हरायो। यससँगै पुलिसले महिला भलिबलमा एपिएफको एकछत्र राजलाई पोखराको कोर्टमा पनि तोड्यो। पुरुषतर्फ विजेता गण्डकी र महिलातर्फ विजेता पुलिसले समान नगद एक लाख ५० हजार रूपैयाँ, उपविजेता आर्मी (पुरुष) र एपिएफले ७५ हजार रूपैयाँ प्राप्त गरे। तेस्रो हुने पुलिस (पुरुष) र न्यु डायमन्ड एकेडेमी (महिला) ले ३५ हजार रूपैयाँ पाउँदा सान्त्वना टोली एपिएफ (पुरुष) र आर्मीले १५ हजार रूपैयाँ पाए।  

प्रतियोगितामा महिलातर्फ पुलिसकी उषा भण्डारी र पुरुषमा गण्डकीका घनश्याम चौधरी उत्कृष्ट खेलाडी घोषित भए। दुवैले नगद २० हजार रूपैयाँ पुरस्कार पाए। विधागत उत्कृष्टअन्तर्गत सर्भरमा प्रतिभा माली (न्यु डायमन्ड), सेटरमा कमला पुन (पुलिस), ब्लकरमा हीरा केसी (एपिएफ), डिफेन्डर शान्तिकला तामाङ (पुलिस) र स्पाइकरमा सरस्वती चौधरी (एपिएफ)ले सफलता प्राप्त गर्दा पुलिसका रूपेश विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए।

पुरुषको विधागत उत्कृष्टअन्तर्गत ब्लकरमा हरि अधिकारी (आर्मी), सर्भर शरणसामरी क्षत्री (आर्मी), स्पाइकरमा धनबहादुर भट्ट (आर्मी), सेटरमा सुजन चोख्याल (गण्डकी), डिफेन्डर राजन दर्लामीमगर (गण्डकी) ले सफलता पाउँदा गण्डकीका रमेश केसी उत्कृष्ट प्रशिक्षक घोषित भए। उत्कृष्ट सबैले ५ हजार रूपैयाँ र ट्रफी प्राप्त गरे।

प्रकाशित: २ फाल्गुन २०७७ ०४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App