६ वैशाख २०८१ बिहीबार
खेल

‘अमेजिङ मोटर र्‍याली–२०२१’ चितवन प्रस्थान

आन्तरिक पर्यटन प्रवद्र्धन र क्यान्सर जनचेतना फैलाउने उद्देश्यले आयोजित आठौं संस्करणको अमेजिङ मोटर र्‍याली–२०२१ शुक्रबार काठमाडौंबाट चितवन प्रस्थान गरेको छ।  

रोटरी क्लब अफ वाग्मती काठमाडौं र केजिएच फाउन्डेसनको आयोजनामा भएको र्‍याली पहिलो दिन काठमाडौंबाट सुरु भएर भद्रकाली, सिंहदरबार, थापाथली, कलंकी परिक्रमा गरी थानकोट, नागढुंगा, गजुरी, मुग्लिङ, चितवन, नारायणघाट हुँदै सौराहा पुगेको हो।  

शुक्रबार साँझ सौराहा पुगेको सहभागी टोलीले जंगल सफारी, थारु कला संस्कृतिको अवलोकनसमेत गरेको छ। भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डबाट सुरु र्‍यालीमा ६३ सवारीसाधनले सहभागिता जनाएका छन्।

पर्यटन बोर्डद्वारा अघि सारिएको आन्तरिक पर्यटन प्रवद्र्धनको नारा ‘देश दर्शन’लाई प्रचार गर्दै र्‍यालीबाट क्यान्सरविरुद्ध जनचेतना फैलाउँदै र्‍याली चितवन पुगेको हो। अन्तिम गन्तव्य पोखरा भएको र्‍याली शनिबार बिहानै पोखरातर्फ प्रस्थान गर्ने आयोजकले जानकारी दिएको छ।  

आयोजकले सहभागीलाई निगरानीका लागि विभिन्न आठ स्थानमा चेक प्वाइन्ट राखेको छ। चेक प्वाइन्टमा सहभागीहरूले अतिरिक्त क्रियाकलापमा सहभागी हुँदै अंक जोडेका छन्।

सहभागीले तोकिएका सवारीसाधन मात्र चलाउनुपर्ने नियम आयोजकले तोकेको छ र तोकिएका कार्यभार पूरा गर्ने क्रममा नियम उल्लंघन गरेको खण्डमा प्रतियोगिताबाट बाहिरिन सक्नेसमेत जनाएको छ। आयोजकले प्रदान गरेको नारासहित ब्यानर बोकेर गन्तव्य पूरा गर्ने विजेताले टर्किस एयरलाइन्सबाट प्रदान गरिने हवाई टिकट प्राप्त गर्नेछ।

प्रकाशित: १ फाल्गुन २०७७ ०३:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App