२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

४५ वर्षीया भेनसको टेनिस मोह: म खेल्न मन पराउँछु, तर भविष्यबारे भन्न सक्दिनँ

अमेरिकी टेनिस आइकन ४५ वर्षीया भेनस विलियम्स सोमबार युएस ओपन टेनिसको कोर्टमा देखा परिन्। सम्भवतः आफ्नो टेनिस करियरको अन्तिम युएस ओपनको पहिलो चरणबाटै बाहिरिए पनि उनले आफ्नो प्रतिस्पर्धाप्रति खुसी व्यक्त गरिन्। 

भेनस ११ औं वरीयता प्राप्त चेक रिपब्लिककी कारोलिना मुचोभासँग २–१ को सेटमा पराजित भएकी हुन्। पहिलो सेट ३–६ ले गुमाएकी भेनसले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट ६–२ ले आफ्नो पक्षमा पारेकी थिइन्। तर २ घण्टासम्म चलेको प्रतिस्पर्धामा तेस्रो सेट १–६ ले गुमाउँदै उनी पहिलो चरणबाटै बाहिरिन बाध्य भइन्। 

पहिलो चरणमै पराजित भए पनि भेनसले देखाएको उत्साहले अझै केही वर्ष प्रतिस्पर्धा गर्न सक्ने सम्भावना जीवित छ भन्ने संकेत मिलेको खेल पण्डितहरूको बुझाई छ। 

सात पटकको ग्रान्डस्लाम विजेता भेनसले आफ्नो स्वास्थ्य समस्यासँग लामो संघर्ष गरेकी थिइन्। स्जोग्रेन सिनड्रोम नामक रोगबाट गुज्रिएकी उनी पछिल्लो समय फाइब्राइडको समस्याले ग्रसित थिइन्। 

खेलपछि पत्रकारहरूसँगको कुराकानीमा उनले भनिन्, ‘जब तपाईँ अस्वस्थ भएर खेल्नुहुन्छ, त्यति बेला तपाईँको मनमा पनि त्यसैको असर पर्छ। अहिले म केही स्वतन्त्र महसुस गरिरहेकी छु।’

सन् २०२० को युएस ओपनमा पनि भेनस मुचोभासँगै पराजित भएकी थिइन्। त्यो बेलाको खेल सम्झँदै उनले भनिन्, ‘त्यो बेला म अस्वस्थ थिएँ र निकै पीडामा थिएँ। तर आजको दिन फरक थियो, मैले धेरै सहज महसुस गरेँ।’

‘खेल्न मन पराउँछु तर भविष्य के होला?’

प्रतियोगिताका लागि नाम टिपाउँदा धेरैले भेनस विलियम्सलाई निष्क्रिय खेलाडी ठानेका थिए। लगभग एक वर्ष पुरै कोर्ट बाहिर रहेकी उनले वासिंगटन ओपनमार्फत पुनरागमन गर्दै फेरि कोर्टमा फर्किने घोषणा गरिन्। उनले फर्किए लगत्तै ३५औं वरीयताकी पेटन स्टेन्र्सलाई हराउँदै उत्साह जगाइन्। त्यसपछि सिनसिनाटीमा हार व्यहोरे पनि उनलाई युएस ओपनमा २५औं पटक वाइल्डकार्ड प्रवेश दिइयो। 

युएस ओपनको पहिलो चरणमा मुचोभाविरुद्धको खेलमा सुरुमा उनी संघर्ष गरिरहे पनि, सर्भिस सुधार गर्दै उनले खेललाई निकै प्रतिस्पर्धात्मक बनाएकी थिइन्। अन्ततः तेस्रो सेटमा थाकेकी भेनस ६–१ को सेटमा पराजित हुन पुगिन् । तर उनको साहस र कोर्टमा देखाएको उत्साहले टेनिसमा अझै चुनौती दिन सक्ने संकेत देखिएका छन्। 

यद्यपि खेलपछि आफ्नो भविष्यबारे भेनसले स्पष्ट जवाफ भने दिइनन्। ‘मलाई खेल्न मन पर्छ। तर म अब मेरो चाहनाअनुसार मात्र गर्नेछु,’ उनले भनिन्, ‘धेरै टाढासम्म यात्रा गरेर खेल्न चाहन्छु कि चाहन्न, त्यो थाहा छैन।’ 

यद्यपि उनी कोर्टमा देखिँदै गर्दा खेल प्रेमी र समर्थकहरूले खुलेर प्रशंसा गर्दै आगामी दिनमा समेत खेलेको हेर्न चाहेको बताएका थिए।

प्रकाशित: १० भाद्र २०८२ १६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App