२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

बागमतीका मुख्यमन्त्रीले भने- जनताको सरकार नहुँदा हेटौंडा बजार भत्कियो

तस्बिर: नागरिक

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनप्रतिनिधिको अभाव र जनताको सरकार नहुँदा हेटौंडा बजार भत्किएको टिप्पणी गरेका छन्।

सिन्धुली उद्योग वाणिज्य संघको ३५औँ वार्षिक साधारणसभालाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले व्यापारीहरूको गुनासोमाथि जवाफ दिँदै यस्तो धारणा राखेका हुन्।

कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले सरकारले हेटौंडा बजार भत्काएर व्यापारीहरूको बिचल्ली बनाएको भन्दै आक्रोश पोखेपछि मुख्यमन्त्री बानियाँले त्यसको कारण खुलाए।

No description available.

उनले भने, ‘जुन समयमा जनताको सरकार र प्रतिनिधि थिए, लामो समयसम्म हेटौंडा बजार भत्किएन। तर, जब जनताका प्रतिनिधि रहेनन्, तब बजार भत्काइयो।’

उनले निजी क्षेत्रसँग सहकार्य गरेर नै प्रदेश सरकारले विकास निर्माणका काम अघि बढाइरहेको र शिक्षालाई प्रविधिमैत्री बनाउँदै जनताको माग अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

No description available.

मुख्यमन्त्री बानियाँले आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि बागमती प्रदेश सरकार पूर्ण सहयोग गर्न तयार रहेको स्पष्ट पारे।

उनले केन्द्रीय सरकारप्रति इंगित गर्दै भने, ‘सरकारले निर्वाचन गर्छु भन्ने दृढ संकल्पसहित मिति तोकेको हो वा केवल घोषणा मात्रै गरेको हो, यो स्पष्ट हुनुपर्छ। यदि साँच्चिकै निर्वाचन गर्ने हो भने प्रदेश सरकार सबै किसिमको वातावरण बनाउन तयार छ।’

समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले हेटौंडाको घटनाप्रति आपत्ति जनाए।

अदालतले नभत्काउनू भनी ‘स्टे अर्डर’ जारी गर्दागर्दै त्यसको अवहेलना गरी बिहानको झिसमिसेमै ५३१ भन्दा बढी घर र सटरहरू भत्काइएको भन्दै उनले सरकारको आलोचना गरे।

‘अदालतको आदेश समेत नमानेर हजारौँ व्यापारीलाई सडकमा ल्याइएको छ,’ श्रेष्ठले भने, ‘व्यवसायीको संरक्षण बिना मुलुकको आर्थिक समृद्धि सम्भव छैन।’

कार्यक्रममा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन श्रेष्ठले संघले व्यवसायीको हकहितका साथै सामाजिक उत्तरदायित्व बहन गर्दै आएको बताए।

उनले आर्थिक अभावका कारण उपचार नपाएका विपन्न नागरिकहरूको सहयोगार्थ संघले छिट्टै एक ‘अक्षयकोष’ स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिए।

साधारणसभामा सहभागी अधिकांश वक्ताहरूले पछिल्लो समय राज्य पक्षबाट व्यवसायीमाथि भइरहेको धरपकड र असुरक्षाप्रति चिन्ता व्यक्त गरेका थिए।

प्रकाशित: २३ मंसिर २०८२ २२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App