७ वैशाख २०८१ शुक्रबार
खेल

२१ वर्षे यी नेपाली माल्दिभ्समा टेनिस प्रशिक्षक

उमेर सानै छ। तर जिम्मेवारी भने ठूलो। भर्खरै २१ मा टेकेका प्रदीप खड्का यतिबेला माल्दिभ्समा प्रशिक्षक छन्। उनले माल्दिभ्समा टेनिस प्रशिक्षण गराउँछन्। एक वर्षे सम्झौता अनुसार दसैं लगत्तै उनी माल्दिभ्स उडेका हुन्।  

माल्दिभ्समा प्रशिक्षणको अवसर भने नेपालका पूर्व नम्बर एक टेनिस खेलाडी कुमार अधिकारीले मिलाईदिएका हुन्। अधिकारी माल्दिभ्सको टेनिस प्रशिक्षक बनेर इण्डोनेशियामा आयोजित १८ औं एशियन गेम्समा माल्दिभ्सको टिम लिएर गएका थिए। अधिकारी र खड्का दुवै पोखराका हुन्। पोखराको पस्र्याङस्थित टेनिस कोर्टबाट करियर शुरु गरेका थिए। खड्काले टेनिसको र्याकेट समातेको १३ वर्ष पुग्यो। ८ वर्षकै उमेरमा पस्र्याङस्थित टेनिस कोर्टबाट टेनिसमा भविष्य कोर्न अठोट लिए। शुरुवात गरे बल टिप्ने काम।

सानै उमेर भएपनि टेनिस खेल्ने हुटहुटी थियो। अग्रजले दिएको टेनिस र्याकेट समाउँदै बल सर्भिस हाने। ‘पस्र्याङस्थित कोर्टबाटै टेनिस प्रारम्भ भयो।’ खड्का विगत सम्झन्छन्–‘दाइहरु खेले र पुरस्कार थापेको देख्दा आफूलाई पनि भित्रै मनदेखि खेल्न पाए हुन्थ्यो भन्ने थियो।’ टेनिस कोर्ट कास्की जिल्ला टेनिस संघका निर्वतमान अध्यक्ष विनोद कायस्थले निर्माण गरेका थिए। ऋाफ्नै जग्गामा दुईवटा कोर्ट निर्माण गरेर टेनिसको गतिविधिलाई विस्तार गरेका थिए। पछि पोखरा रंगशालाभित्र टेनिस कोर्ट निर्माणपछि पस्र्याङ कोर्ट पूर्ण रुपमा बन्द गरिएको थियो।  

‘विनोद कायस्थ सरले नै टेनिसको र्याकेट दिएपछि खेल्न थाले’ पुरानो यादहरु उनको मष्तिस्कमा ताजै छ। खड्कालाई टेनिस खेल्न प्रेरित गर्ने मुख्य काम भने हङकङ बस्दै आएका विकास गुरुङले गरे। उनीसँगै विकास थापा, विनोद गुरुङ युवराज गुरुङले गरेको सहयोगलाई पनि उनले सम्झिन भ्याए। पहिलो पटक यु–१४ मा कास्य पदक जित्दा उनलाई सबैथोक पाए जस्तो अनुभूति भएको थियो। कास्य पदक जित्दा उनलाई हौसला दिदैं निशान्त गुरुङले नयाँ र्याकेट उपहार दिदाँको क्षण पनि ताजै छ।  

उनलाई टेनिस सिकाउने काम भने प्रशिक्षक निरज थापाले गरे। पोखरा रंगशालामा उनै थापाले नियमित रुपमा प्रशिक्षण गराउँदै खारिएका खड्का अहिले माल्दिभ्समा प्रशिक्षण गराउन उद्दत छन्। कडा मेहनत र प्रशिक्षणले मात्रै उचाईमा पुगिन्छ। खड्का नेपालका शीर्ष बरियताका खेलाडी समेत हुन्। नेपाली टेनिसकै इतिहासमा पहिलो पटक टिम इभेण्टमा कास्य पदक जित्दा खड्का नेपाली राष्ट्रिय जर्सी लगाएका थिए। काठमाडौंमा भएको खेलमा पाकिस्तानसँग पराजित हुदैं तेस्रो स्थानमा नेपाली टिम खुम्चिन पुग्यो।  

खड्काले कुमार अधिकारीको खेल पोखराको पस्र्याङ कोर्टमा खेलेको देखेका थिए। पस्र्याङ कोर्टमा आयोजित राष्ट्रिय टेनिस प्रतियोगितामा कुमारले जितेन्द्र परियारलाई फाईनलमा पराजित गर्दाको क्षणसँगै उनले पनि टेनिसमा उच्च छवि बनाउने दृढ संकल्प गरे। जुन अहिले कायम राख्दै इतिहास समेत लेखाए। अधिकारीसँगै महेश्वर तिवारी, अनिल साई, प्रणव कायस्थ, अभिषेक बास्तोला अग्रज खेलाडीको समीपमा रहेर टेनिस खेल्ने र सिक्ने अवसर प्राप्त गरे।  

‘सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो स्वर्ण पदक जितें’ उनी सम्झन्छन्–‘त्यो घरेलु कोर्टमा जितेको पहिलो स्वर्ण थियो।’ उनले टिम इभेन्टमा जितेका थिए । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत र टिम इभेण्टमा कास्य पदक जितेका थिए। दोस्रो र तेस्रो बुटवल ओपन टेनिस प्रतियोगितामा च्याम्पियन बनेका थिए। सिटिजन्स बैंक टेनिस प्रतियोगितामा मेन्स सिंगल तर्फ भने उनी उपविजेतामा चिक्त बुझाएका थिए।  

माल्दिभ्समा उनले दैनिक ५ घण्टा प्रशिक्षण गराउँछन्। ‘कोभिड–१९ ले असर गरेको छ। खेलाडीहरुसँगै खेलेर सिकाउँदै छु’ उनी भन्छन–‘११ जना छन्। कोभिड–१९ कै कारण कम छन्।’ मासिक तलब ७ सय डलर छ। सबै खाले खेलाडीलाई प्रशिक्षण गराउँछन्। राष्ट्रियस्तरको खेलाडीलाई कुमार अधिकारीले प्रशिक्षण गराउँछन्। एकवर्षे सम्झौतासँगै खड्काले माल्दिभ्सका खेलाडीलाई प्रशिक्षण गराउने मात्रै नभई अधिकारीसँग आफैं पनि प्रशिक्षण गर्न व्यस्त छन्।  

बलब्वाईबाट माथि उठ्दै शीर्ष बरियतासम्म पुगेर प्रशिक्षणको जिम्मेवारी लिदैं विदेशिका उनी टेनिस नै सबैथोक हो भन्छन्। घरमा आमा, भाई र हजुर आमा छन्। सम्झौता बाहेक प्राईभेट प्रशिक्षण समेत गराउने सोच लिएका छन्। ‘दैनिक पाँच घण्टा सिकाउँछु’ उनी भन्छन्–‘प्राईभेट क्लास खेलाएको छुट्टै पैसा आउँछ।’ फुर्सद हुने वित्तिकै टेनिस कोर्ट नै रुँगेर र्याकेट समातेर बल हान्न हतारिन्थे। त्यसैको प्रतिफल आज उनले आफूले पाएको सुनाउँछन्।

प्रकाशित: २३ कार्तिक २०७७ ०७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App