काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम प्रदेशका ३० जना खेलाडीहरूको उपस्थिति छ।
गृह प्रदेशको टिम सुदूरपश्चिम रोयल्समा नेपालका चर्चित क्रिकेटर दीपेन्द्रसिंह ऐरीसहित दश जना खेलाडी सुदूरपश्चिमकै छन्।
नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दको गृह प्रदेशका खेलाडीहरु अहिले तेस्रो संस्करणका आठ वटै टिममा अनुवन्धित भएर क्रिकेटको भीडन्तमा छन्।
सुदूरपश्चिमका नौ जिल्लामा सबैभन्दा बढी एनपिएलमा कञ्चनपुरका १३ जना खेलाडी मैदानमा रहेका कञ्चनपुर क्रिकेट सङ्घका अध्यक्ष एवं क्यानका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दले बताए।
‘सुदूरपश्चिम क्रिकेट मात्रै होइन प्रायः धेरै खेलको खेलाडी उत्पादनको थलोका रूपमा नतिजाबाट अग्रस्थानमा छ’, क्रिकेट सङ्घका केन्द्रीय सदस्य चन्दले भने, ‘खेल पूर्वाधारको अवस्था अझै दयनीय छभन्दा फरक पर्दैन।’
उनले बैतडीमा क्रिकेट मैदान भए पनि अन्य जिल्लामा काम चलाउ अवस्थामा प्रशिक्षण भइरहेको बताए।
सुदूरपश्चिम रोयल्समा कञ्चनपुरका कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, हेमन्त धामीर मिलन बोहरा छन् भने बैतडीका हिक्मत महरा र दीपक बोहरा रहेका छन्।
त्यसैगरी अछामका सचिन भट्ट, कैलालीका टेक रावतर आयुब चन्द र डडेल्धुराका टेकराज थलाल रोयल्समा छन्।
त्यसैगरी, कञ्चनपुरका सन्दीप जोरा, डोटीका शेर मल्ल, अछामका दिनेश अधिकारी र कञ्चनपुरका दिलीप नाथ लुम्बिनी लायन्सबाट एनपिएल खेल्दैछन्।
कञ्चनपुरका विकास आग्री र आदित्य महता जनकपुर बोल्ट्समा अनुबन्धित छन् भने कञ्चनपुरका भीम सार्की र साजन गौतम एवं कैलालीका प्रसिद्ध जैसी काठमाडौं गोर्खाजमा छन्।
त्यसैगरी डोटीका लोकेश बम र कैलालीका नारायण जोशी र नरेन साउँद विराटनगर किङ्ग्सबाट खेल्दै छन् भने बझाङका युवराज खत्री कर्णाली याक्सबाट खेल्दै छन्।
यता चितवन राइनोजमामा कञ्चनपुरका कमलसिंह ऐरी, कैलालीमा अर्जुन साउद र विपिन रावल बझाङका अशोक धामी र डडेल्धुराका दीपक बोहरा खेल्दै छन्।
त्यस्तै पोखरा एभेन्जर्समा कञ्चनपुरका आकाश चन्द र किरण ठगुन्नाले एनपिएल खल्ने अवसर पाएका छन्।
जिल्ला क्रिकेट सङ्घका अध्यक्ष चन्दले हरेक वर्ष सुदूरपश्चिमले नयाँनयाँ प्रतिभावान खेलाडी उत्पादन गरिरहेको बताए।
‘अहिले जारी एनपिएल खलिरहेका अधिकांश खेलाडीले यसअघिका दुई वटा संस्करणसमेत खेलिसकेका छन्’, उनले भने, ‘सुदूरपश्चिमको क्रिकेट क्रेज त एनपिएलमा हुने सुदूरका दर्शकहरुले देखाइसकेका छन्।’
उनले खेलाडी उत्पादनमा अग्रस्थानमा रहेको सुदूरपश्चिममा क्रिकेटको पूर्वाधार निर्माणमा राज्यले ध्यान दिनुपर्ने बताए।
‘धनगढीको फाप्ला क्रिकेट मैदानमा चर्चा चुलिएको लामो समय भयो तर सम्पन्न भएको छैन’, चन्दले भने, ‘कञ्चनपुरको महेन्द्रमा २०७२ सालदेखि निर्माणाधीन क्रिकेट मैदान अझै अपूर्ण छ।’
राष्ट्रिय खेलकुद परिषद्ले चालु आर्थिक वर्षमा महेन्द्रनगरको क्रिकेट मैदान निर्माणका लागि रु तीन करोड बजेट विनियोजन गरेकाले मैदानले पूर्णताः पाउनेमा आशा पलाएको चन्दको भनाइ छ।
‘महेन्द्रनगरमा निर्माणाधीन मैदानका लागि विनियोजित बजेटको ठेक्का प्रक्रिया हुने चरणमा छ’, उनले भने, ‘अब अर्को वर्षदेखि खेलाडीहरुले आफ्नै मैदानमा नियमित प्रशिक्षण र प्रतियोगिता खेल्न पाउनेमा आशावादी बनेका छौँ।’ रासस
प्रकाशित: १२ कार्तिक २०८३ १८:५२ बिहीबार





-600x400.jpg)