मेडिकल अभियन्ता डा. गोविन्द केसीले उदयपुरमा बस्ने भनिएको अनसन स्थगित गरेका छन्। कात्तिक १२ गतेदेखि अनसन बस्ने भन्दै आफ्ना स्थानीय प्रतिनिधिमार्फत स्थानको तय गर्न लगाएका डा. केसीले अन्तिममा आएर अनसन स्थगित गर्ने निर्णय गरेका हुन्।
केसीका स्थानीय प्रतिनिधि गौरीशंकर उदासका अनुसार सदरमुकाम गाईघाटमा अनसन बस्नका लागि उनले सार्वजनिक स्थल खोजेका थिए। त्यसका लागि केसीले नै इच्छाएको बोक्सेस्थित राधाकृष्ण मन्दिर परिसरमा अनसन बस्न ठाउँ मागेका थिए।
तर, मन्दिर व्यवस्थापन समितिले आनाकानी गरेको तथा प्रशासनबाट पनि अपेक्षित सहयोग नपाएका उनले कार्यक्रम स्थगित गरेको उदासले बताए।
राधाकृष्ण मन्दिरमा अनसन बस्ने ठाउँ मिलाउन उदासले केही सहयोगीसहित मन्दिर व्यवस्थापन समितिसँग बुधबार बिहानदेखि प्रयास गरेका थिए। तर, मन्दिर व्यवस्थापन समितिले धार्मिक स्थलमा राजनीतिक मागसहितको अनसन बस्न दिनु उपयुक्त नहुने भन्दै आनाकानी गरेपछि अर्को सुरक्षित स्थलको खोजी गरेका थिए।
मन्दिर परिसरमै बस्न इच्छाएका केसीलाई त्यहाँ ठाउँ नमिलेपछि उदासले गाईघाट बजारकै सडक छेउको एक निजी घर १५ दिनका लागि भाडामा खोजिदिएका थिए।
पहिला सूर्योदय अस्पताल सञ्चालन गरिएको १४ वटा कोठा भएको सडकसँगै जोडिएको सटरसहितको घर भाडामा तय गरेर बुधबार दिउँसै सरसफाइसमेत गरिसकिएको उदासले बताए।
अनसन बस्नका लागि गाईघाट बाबारानी सिनेमा हल जाने सडकछेउको घर भाडामा लिएर सरसफाइसमेत गरिसकेको र बिहीबार बिहान आएर मध्यान्ह पत्रकार सम्मेलन गरी साँझदेखि अनसन बस्ने टुंगो लागेको उदासले बताए। तर, डा. केसीले सार्वजनिक स्थल नपाएपछि व्यक्तिगत घरमा अनसन नबस्ने भन्दै एक्कासि कार्यक्रम स्थगित गरेको उदासको भनाइ छ।
‘मन्दिर परिसरमा कुरा नमिलेपछि मैले धेरै ठाउँ खोजेर सुरक्षित स्थान र पर्याप्त कोठा भएको घर मिलाइदिएको थिएँ’ उदासले भने ‘वृद्ध शरीर, खराब मौसमको पूर्वानुमान भइरहेकाले सुरक्षित होस् भन्न १५ कोठाको घर खोजिदिएको थिएँ, जहाँ प्रहरी सुरक्षाकर्मी र समर्थकहरूलाई सुत्न बस्न, खाना पकाएर खानसमेत सहज होस् भन्ने थियो। तर, कार्यक्रम स्थगित गर्नुभयो।’
निर्धारित अनसन स्थगित गरे पनि कहिले अनसन बस्ने भन्ने यकिन भने नभएको उदासले बताए। यसबारे भने केसीले आफूसँग केही नभनेको उदासले प्रस्ट्याएका छन्।
बुधबार बिहान डा. केसीको अनसनबारे नागरिक न्युजले समाचार प्रकाशन गरेकोमा दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न समयका स्वास्थ्यसम्बन्धी आन्दोलनका मागहरू सम्बोधन गर्ने निर्णय गरेको थियो।
सरकारको यही निर्णयको प्रभावले पो डा. केसीले अनसन स्थगित गरेका हुन् कि भन्ने अनुमान पनि बजारबासीले लगाएका छन्।
देशमा व्याप्त चिकित्सा शिक्षामा परिवर्तन, मेडिकल माफिया तन्त्रको अन्त्य र जनस्वास्थ्योपचारमा जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराउँदै डा. केसी १५ वर्षयता २४ पटक आमरण अनसन बसिसकेका छन्।
२०६९ (सन् २०१२)मा पहिलो पटक अनसन बसेका डा. केसीले माग पुरा गराउन सरकारसँग विभिन्न बुँदे सम्झौता गर्ने तर, माग पुरा नभएपछि पुनः अनसन जारी राख्दै आएका छन्।
प्रकाशित: १२ कार्तिक २०८३ १८:२० बिहीबार


-600x400.jpg)


