१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
अर्थ

कम्पनीलाई कर, शुल्क र जरिबाना मिनाहाको म्याद पुस मसान्तसम्म थप

कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीलाई कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहासम्बन्धी व्यवस्था लागू हुने म्याद २०८३ पुस मसान्तसम्म थप गरिएको छ ।

यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको म्याद २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार बढाएर पुस मसान्तसम्म पुर्‍याइएको हो ।

सम्बन्धित कानुनले तोकेको समयभित्र विवरण पेस नगरेका, नवीकरण नगरेका वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना नबुझाएका कम्पनीले यो सुविधा पाउनेछन् ।

उक्त व्यवस्थाअनुसार कारोबार जारी राख्न वा कम्पनीको दर्ता खारेज गर्न चाहने कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर बुझाउनुका साथै आवश्यक विवरण २०८३ पुस मसान्तभित्र पेस गर्नुपर्नेछ ।

तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गर्ने कम्पनीलाई त्यसअघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा हुने व्यवस्था गरिएको छ ।

म्याद थप भएसँगै लामो समयदेखि विवरण पेस नगरेका, नवीकरण नगरेका तथा आर्थिक दायित्व पूरा गर्न बाँकी रहेका कम्पनीलाई कानुनी प्रक्रिया पूरा गर्ने थप अवसर प्राप्त भएको छ । सम्बन्धित कम्पनीले तोकिएको समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गरी यो सुविधाको लाभ लिन सक्नेछन् ।

प्रकाशित: १२ कार्तिक २०८३ १८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App