नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको मूल जिम्मेवारी अब युवा पुस्तामा आएको भन्दै कांग्रेससँगै सिङ्गो देशलाई बलियो बनाउने अभियानमा लाग्न नवनिर्वाचित नेतृत्वलाई आह्वान गरेका छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरूको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए।
वरिष्ठ उपसभापति शर्माले अबको राजनीति उपलब्धि र परिणाममुखी हुनुपर्नेमा जोड दिए। ‘नेपाली कांग्रेसको जिम्मेवारी युवा पुस्तामा आएको छ, बलियो कांग्रेस बनाएर समृद्ध नेपालको अभियानमा लाग्नुपर्छ,’ शर्माले भने, ‘दौडिएर पसिना बगाउनु मात्रैलाई काम भन्न सकिँदैन, काम हुनका लागि परिवर्तन र उपलब्धि आवश्यक छ। हामी मिडियामैत्री र सामाजिक सञ्जालमैत्री बन्न पनि उत्तिकै जरुरी छ।’
पार्टीको संस्थागत कार्यशैली र सामाजिक रूपान्तरणलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले अबको समयलाई विसङ्गति अन्त्य गर्ने सामाजिक रूपान्तरणको दशकका रूपमा अगाडि बढाउनुपर्ने धारणा राखे।
शपथ ग्रहणमा पद र प्रमाणपत्र लिनुलाई मात्र उपलब्धि नठान्न आग्रह गर्दै उनले कांग्रेसको गौरवशाली इतिहासलाई आत्मसात् गरी वर्तमानलाई जिम्मेवार र भविष्यलाई सुन्दर बनाउने सङ्कल्प गर्न नवनिर्वाचित सदस्यहरूलाई आग्रह गरे।
महाधिवेशनका क्रममा भएका तीतामीठा अनुभव बिर्सेर अघि बढ्नुपर्ने बताउँदै वरिष्ठ उपसभापति शर्माले भने, ‘निर्वाचनमा विजयी भएका नेताहरूले आफूलाई मत दिने प्रतिनिधिको विश्वासको सम्मान गर्नुपर्छ। साथै, पराजित उम्मेदवार तथा निर्वाचनमा सहभागी हुन नपाएका पार्टीका अन्य नेता-कार्यकर्तालाई समेत समेटेर अघि बढ्नु नयाँ नेतृत्वको साझा दायित्व हो।’
पार्टी सञ्चालनमा व्यक्तिगत दौडधुपभन्दा संस्थागत योजना र समन्वय प्रभावकारी हुने उनको भनाइ थियो। केन्द्रले तय गरेका योजना र निर्देशनलाई आत्मसात् गर्दै सङ्गठनका कमजोरी सुधार्न र देश तथा नागरिकको हितलाई पार्टीगत स्वार्थभन्दा माथि राख्न उनले निर्देशन दिए।
जलवायु परिवर्तनका कारण नागरिकले भोगिरहेको सङ्कटप्रति सरकार र जनप्रतिनिधि गम्भीर बन्नुपर्नेमा जोड दिँदै उनले जलवायु परिवर्तनको असरविरुद्ध सरकारसँगै हातेमालो गरेर काम गर्नुपर्ने बताए। विपद् प्रभावित परिवारको जीवनरक्षा, जोखिम न्यूनीकरण र जनजीविका सुधारमा विशेष ध्यान दिन उनले आग्रह गरे।
वरिष्ठ उपसभापति शर्माले पार्टीप्रतिको समर्पणलाई देश र जनताको सेवासँग जोडेर सबैले इमानदारीपूर्वक काम गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: १२ कार्तिक २०८३ १९:३० बिहीबार





