पर्थ, (एएफपी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले फ्रान्सेली मिडफल्डर पाउल पोग्बाका लागि हालसम्म कुनै सरुवा प्रस्ताव नआएको भन्दै उनले ओल्ड ट्राफोर्ड छोड्ने हल्ला निराधार भएको बताएका छन्।
इङ्लिस प्रिमियर लिग क्लब युनाइटेड हाल प्री सिजन भ्रमणका लागि पर्थमा छ। सञ्चारमाध्यमहरूले स्पेनिस ला लिगा क्लब रियाल मड्रिड र सिरी ‘ए’ टोली युभेन्ट्स २६ वर्षे पोग्बाको आगामी गन्तव्य हुने खबर सार्वजनिक गरेका थिए।
यसअघि मंगलबार पोग्बाका एजेन्ट मिनो रायलोले पोग्बा सरुवाको मनस्थितिमा रहेको सबैलाई जानकारी भएको प्रतिक्रिया दिएका थिए।
तर डिसेम्बरमा जोजे माउरिन्हो बर्खास्तगीमा परेपछि टोली सम्हालेका सोल्सजायरले क्लब तत्काल पोग्बा तथा अन्य कुनै पनि खेलाडीलाई बेच्ने मनस्थितिमा नरहेको र त्यसका लागि दबाब पनि नभएको प्रतिक्रिया दिएका छन्।
‘हाम्रा खेलाडीका लागि कुनै सरुवा प्रस्ताव आएका छैन। खेलाडीका एजेन्टले सधैं सरुवाको विषयमा कुरा गरिरहेकै हुन्छन्। हामी युनाइटेड हाैं र हामी खेलाडी बेच्दैनौं,’ सोल्सजायरले भने, ‘हामी अहिले आगामी सिजनका लागि कसरी टोली बलियो नाउन सकिन्छ भन्नेमा केन्द्रित छौं।’
प्री सिजन भ्रमणमा रहेको युनाइटेडले शनिबार पर्थ ग्लोरी र मंगलबार लिड्स युनाइटेडविरुद्ध खेल्नेछ।
मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएको फुटेजमा पोग्बा र जेसे लिंगार्डबीच विवाद भएको देखिए पनि सोल्सजायरले त्यसको समेत खण्डन गरेका छन्।
‘पोग्बा उत्कृष्ट खेलाडी हुन्। यो सबै पोग्बा र क्लबबीच विवाद सिर्जना गर्न रचिएका षड्यन्त्र हो,’ सोल्सजायरले भने, ‘जेसे र पोग्बा अभ्यास सत्रका क्रममा संगै हिँडिरहेका थिए। तर त्यसलाई झगडाको रूपमा प्रस्तुत गरियो। उनीहरूबीच कुनै झगडा भएको छैन। प्री सिजन भ्रमण सुखद भइरहेको छ।’
यता सोल्सजायरले गोलकिपर डेविड डी हियाको क्लबसँगको सम्झौता एक सिजनका लागि मात्र बाँकी रहे पनि उनी लामो समय युनाइटेडमै बस्ने विश्वास व्यक्त गरे।
सरुवा बजार खुला रहँदा युनाइटेड यस सिजनका लागि साउथह्याम्पटनका मारियो लेमिना र टोटेनह्यामका क्रिस्टियन इरिक्सनलाई भिœयाउन इच्छुक रहेको खबर सार्वजनिक भइरहेको छ।
‘हामी उचित मूल्यमा क्लबलाई आवश्यक खेलाडी भित्र्याउने योजनामा छाैं र सरुवा बजार खुला रहेकाले हामीलाई कुनै हतार छैन,’ सोल्सजायरले भने।
सोल्सजायरले हालै ब्राजिलमा सम्पन्न कोपा अमेरिकाका क्रममा घाइते भएका चिलीका एलेक्सिस सान्चेज सिजन सुरु हुनुअगवै फिट हुने आशासमेत व्यक्त गरे। पर्थमा दुई अभ्यास खेल खेलेपछि युनाइटेड थप अभ्यास खेलका लागि सिंगापुर र चीन भ्रमणमा निस्कनेछ।
प्रकाशित: २६ असार २०७६ ०५:५२ बिहीबार