२ चैत्र २०८२ सोमबार
image/svg+xml
अर्थ

बंशीलाघाटमा बेलिब्रिज सञ्चालन: खोटाङ र भोजपुरको तराईसँग सोझो सम्पर्क स्थापना

खोटाङको दक्षिणी भेग र उदयपुरको उत्तर-पूर्वी क्षेत्रलाई जोड्ने सुनकोशी नदीस्थित बंशीलाघाटमा बहुप्रतिक्षित बेलिब्रिज शनिबारदेखि सञ्चालनमा आएको छ।

उदयपुरको चौदण्डीगढी नगरपालिका-२ र खोटाङको बराहपोखरी गाउँपालिका-५ पौवासेरा जोड्ने यो पुल सञ्चालनमा आएसँगै खोटाङ र भोजपुरको तराईसँग सीधा यातायात सम्पर्क स्थापित भएको छ।

नवनिर्मित बेलिब्रिजको शनिबार कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले उद्घाटन गरे। पूर्वमन्त्री राईले पुलमा आफैँ सवारी साधन चलाएर उद्घाटन गरेका हुन्।

पूर्वाधार विकास कार्यालय खोटाङका अनुसार कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेटबाट पुल निर्माण भएको हो।

कार्यालयका अनुसार १ करोड ८७ लाख रुपैयाँ विनियोजन भए पनि गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले भ्याटसहित ५७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण सम्पन्न गरेको हो।

पुलको लम्बाइ ५१.८१ मिटर र चौडाइ ४.१ मिटर रहेको छ।

उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री राईले आफ्नो कार्यकालमा अघि बढाइएको यो योजनाले पूर्णता पाएकोमा खुसी व्यक्त गरे।

‘यो ऐतिहासिक उपलब्धि हो,’ राईले भने, ‘पक्की पुल निर्माणमा ढिलाइ भइरहँदा यसले वर्षायामबाहेकको समयमा खोटाङ, भोजपुर र उदयपुरका नागरिकलाई ठूलो राहत दिनेछ।’

उदयपुरको चौदण्डीगढी मुकाम बेलटारदेखि २६ किलोमिटर उत्तरमा अवस्थित यो नाका सञ्चालनमा आउँदा खाद्यान्न, निर्माण सामग्री ढुवानी तथा बिरामीलाई अस्पताल लैजान सहज हुने स्थानीयले बताएका छन्।

बंशीलाघाटमा संघीय सरकारको सडक विभाग मार्फत ३ वर्षअघि नै पक्की पुल निर्माण सुरु भए पनि प्रगति सुस्त छ। १० करोड १८ लाख ४१ हजार लागतमा कालिका-वेदांसी जेभीले निर्माण गरिरहेको पक्की पुलको भौतिक प्रगति हालसम्म ३० प्रतिशत मात्र छ।

२०७९ मङ्सिर १ गते ३३ महिनाभित्र सक्ने गरी ठेक्का सम्झौता भए पनि निर्माण सामग्री नदीपारि लैजान नसक्दा काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ।

बेलिब्रिज सञ्चालनमा आएपछि अब निर्माण सामग्री ढुवानी गर्न सहज हुने र पक्की पुलको कामले गति लिने अपेक्षा गरिएको छ।

यसअघि जीर्ण झोलुङ्गे पुलबाट ठेलागाडामा सामान ओसार्नुपर्ने बाध्यता थियो।

नदीमा पानीको बहाव बढ्दा जोखिम हुने भएकाले यो बेलिब्रिज हिउँदयाममा मात्र सञ्चालन हुनेछ। पूर्वाधार कार्यालयका अनुसार वर्षायाम सुरु हुनुअगाडि पुलका पार्टपुर्जा खोलेर सुरक्षित राखिने र हिउँदमा पुनः जडान गरिने सम्झौता भएको छ।

प्रकाशित: २४ माघ २०८२ २१:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App